काठमाडौँ : नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज नगरपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाएको छ।
कांग्रेसले घटनाबारे गृहमन्त्रीले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने माग पनि गरेको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घटनामा दुई जनाको ज्यान गएको र दर्जनौं व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
आङ्देम्बेका अनुसार नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो। देवानगन्जको घटनाले शान्ति–सुरक्षा व्यवस्थापनमा सरकार कमजोर देखिएको भन्दै उनले यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन्।
उनले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। साथै, शान्ति–सुरक्षा कायम गर्न नसकेको विषयमा गृहमन्त्रीले संसद् र जनतासमक्ष स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ।
कांग्रेस नेताले पछिल्लो समय सरकारप्रति नागरिकको असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै त्यसको प्रभाव विभिन्न घटनामा देखिन थालेको टिप्पणी गरेका छन्। उनले हिंसा, आगजनी र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान ननिस्कने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
आङ्देम्बेले अफवाह र उत्तेजनाबाट टाढा रहँदै संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न सबै पक्षलाई अपिल गरेका छन्।





