सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

२०८३ श्रावण ११, सोमबार

चितवन : चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अप्रेसन’ का क्रममा तीन जनालाई पक्राउ गरिएको हो ।

निकुञ्जले आज जारी गरेको विज्ञप्तिमा सुरक्षा निकाय र कर्मचारीले अप्रेसनका क्रममा साउन ४ गते भरतपुर महानगरपालिका-२६ बाट गोरखाको पालुङ्टार-४ स्थायी घर भई भरतपुर ११ बस्ने ४४ वर्षीय रमेश सुनारलाई पक्राउ गरेको जनाइएको छ । संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने अखेटोपहार ओसारपसार गरिरहेको अवस्थामा निजलाई पक्राउ गरी अनुसन्धान गरिएकामा सोही कसुरमा संलग्न रहेको खुल्न आएपछि थप दुई जना पक्राउ परेका विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा भरतपुर-२० का ४२ वर्षीया रेनु भनिने रीता परियार र भरतपुर-२९ का २७ वर्षीय सुभाष लामा रहेका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरद्वारा जारी विज्ञप्तिमा निजहरूलाई जिल्ला अदालत चितवनमा प्रतिवादी बनाइ अभियोग दर्ता गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय माग दाबी गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार