काठमाडौँ : इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ । महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको इनड्राइभले जानकारी दिएको हो ।
कार्यक्रमअन्तर्गत काठमाडौँमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई सम्मान गरिएको छ । सुरक्षित र आत्मनिर्भर रूपमा पाङ्ग्रे सवारी चलाउने पेसामा अघि बढ्न आवश्यक सीप, आत्मविश्वास र स्रोतसाधन प्रदान गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न चरणमा प्रशिक्षण दिइएको थियो ।
अप्रिल २०२६ मा सुरु भएको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरमा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । महिलालाई परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको पेसामा प्रवेश गर्न बाधा पुऱ्याउने सामाजिक तथा व्यावहारिक अवरोधलाई कम गर्न पनि कार्यक्रमले जोड दिएको बताइएको छ ।
कम्पनीका अनुसार प्रशिक्षण अवधिभर सडक सुरक्षालाई व्यावसायिक दक्षताको महत्त्वपूर्ण पक्षका रूपमा समेटिएको थियो । सहभागीहरूलाई व्यावहारिक राइडिङ प्रशिक्षणसँगै सडक सुरक्षासम्बन्धी मार्गदर्शन प्रदान गर्नुका साथै औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा समेत सहयोग गरिएको थियो ।
प्रत्येक सहभागीलाई सुरक्षात्मक हेल्मेट तथा प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट प्रदान गरिएको थियो ।
व्यक्तिगत सुरक्षालाई पनि प्रशिक्षणको छुट्टै महत्त्वपूर्ण पक्षका रूपमा समेटिएको थियो । फाइटब्याक नेपाल सँगको सहकार्यमा उन्नत आत्मरक्षा तालिम सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई सम्भावित सुरक्षा चुनौती पहिचान गर्न, आत्मविश्वास बढाउन र आवश्यक अवस्थामा व्यवहारिक रूपमा सामना गर्न सक्ने सीप विकास गर्न सहयोग गरेको थियो ।
‘सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो र यसमा प्रत्येक चालकको महत्त्वपूर्ण भूमिका हुन्छ । हामी सहभागीहरूलाई ट्राफिक नियमको पालना गर्न, सडकमा सधैँ सचेत रहन र अनुभव बढाउँदै निरन्तर सिकिरहन आग्रह गछौं । सबै सहभागीलाई बधाई दिँदै व्यावसायिक चालकका रूपमा उनीहरूको सुरक्षित र सफल यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ ।’ डिएसपी सुनिलजंग शाहले बताए ।
प्रमाणपत्र वितरण समारोहमा साझेदार संस्थाका प्रतिनिधि, सरकारी निकायका सरोकारवाला, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।
समारोहमा इनड्राइभका प्रतिनिधि तथा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका १० जना सहभागीलाई प्रमाणपत्र, सुरक्षा किट तथा मायाको चिनो प्रदान गरे । कार्यक्रममा सहभागी १० जना महिलाको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ यात्रालाई समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो ।
समारोहका क्रममा सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो । यी सामग्रीले उनीहरूलाई व्यावसायिक ड्राइभिङ यात्राको सुरुवातमा थप सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
इनड्राइभ नेपालका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले भनिन् -‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ ले अन्यायलाई चुनौती दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने इनड्राइभको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । मानिस र समानतालाई केन्द्रमा राखेर अघि बढाइएको यस पहलको हिस्सा बन्न पाउँदा म गर्व गर्छु ।’





