काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य संयन्त्रमा सल्लाहकारको संख्या बढेर स्रोतको दुरुपयोग भएको भन्दै ऊर्जा मन्त्रालयको नाम मुछेका छन्।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको दाबी गर्दै आफ्नो मन्त्रालयले मितव्ययिता अपनाएको बताएका थिए।
तर, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अर्थमन्त्रीको उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेका छन्। मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई पहिलो र अवैतनिक (बिना तलब–सुविधा) सल्लाहकारको रूपमा नियुक्त गरिएको जानकारी दिँदै अर्थमन्त्रीको दाबीमा प्रश्न उठाएका हुन्।
ऊर्जामन्त्री श्रेष्ठले विवेक राज कँडेललाई स्वागत गर्दै भनेका छन्,’आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहिलो सल्लाहकार अवैतनिक (ऊर्जा व्यापार तथा पूर्वाधार) नियुक्त गरेको छ। उहाँको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवले नेपालको ऊर्जा क्षेत्रमा नीतिगत सुधार ल्याउन मद्दत गर्नेछ।’





