धौलिगङ्गा बाँध खोलिँदै, महाकाली किनारमा सतर्क रहन प्रशासनको आग्रह

२०८३ श्रावण १२, मंगलवार

बैतडी : भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएको छ । बाँध खोलेसँगै नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह पनि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिनेछ ।

यस अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ ।

प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्न, ढुंगा–बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न समेत सचेत रहन आग्रह गरेको छ । साथै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार