चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो

२०८३ श्रावण १४, बिहीबार

काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा यस वर्ष उक्त सङ्ख्या बढेर १४५ पुगेको छ।

सङ्ख्या बढ्दै जाँदा निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चुनौती थपिएको छ। सङ्ख्या बढेसँगै बाघ बस्तीतर्फ आउने र मानवीय आक्रमण हुनसक्ने चिन्ता थपिएको छ। यसरी मानव बस्तीमा आउने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको छ।

पूर्ववत् अवस्थामा फर्किन सक्नेलाई पुनःजङ्गलमा छोडिन्छ भने कतिपय बुढो भएर खोरमा मर्ने अवस्था आउने निकुञ्ज प्रशासनले जनाएको छ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जमा अहिले चार भाले र दुई पोथी गरी छ वटा बाघ खोरमा छन्। मुख्यालय कसरामा दुई, भरतपुरको देवनगरमा दुई र सौराहामा दुई वटा बाघ खोरमा रहेका उनले जानकारी दिए।

‘तिनीहरूलाई उद्धार गरेर खोरमा राखिएको हो। अधिकांश नरभक्षी बनेपछि निकुञ्जले नियन्त्रणमा लिएको हो। एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएको हो’, उनले भने। निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी नरहेको बताउँदै सूचना अधिकारी थापामगरले एउटा पुरानो जीर्ण खोरमात्र बाँकी रहेकाले उक्त खोरमा बाघ राख्न मिल्ने अवस्था नरहेको उल्लेख गरे।

यो खोरलाई मर्मत गरेर तयारी अवस्थामा राख्नुपर्ने भन्दै उनले थप समस्याग्रस्त बाघ आएमा राख्ने ठाउँ व्यवस्थापनमा समस्या हुने जानकारी दिए।घाइते र समस्याग्रस्त वन्यजन्तु राख्न निकुञ्जले देवनगरमा ठाउँ बनाएको छ। खुला चिडियाखानाका रूपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैँडा, हात्तीलगायत वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको सूचना अधिकारी थापामगरले बताए।

यहाँ रहेका दुई वटा बाघ निकुञ्ज घुम्न आउने पर्यटक र अन्य स्थानीय हेर्न आउने गर्दछन्। निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार