काठमाडौं : चलचित्र ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ ।
कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो । सिनेमाकी उनी मुख्य अभिनेत्री मध्येकी एक हुन् । पोस्टरमा उनी मगरहरुको संस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोच मग्न देखिएकी छन् ।
साहाराले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । ‘जलाकी’ मा ‘ओपन माइन्डेड’, आधुनिक सोच भएकी, राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन् । ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको हो ।
सिनेमामा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको अभिनय रहेको छ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । शैलेन्द्र डी.कार्कीले छायांकन गरेको सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।








