बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

२०८३ आश्विन २०, मंगलवार

मुस्ताङ : बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन्। बाढी, पहिरो र नदी कटानका कारण एक सातादेखि सडक अवरुद्ध हुँदा स्याउ बोटमा कुहिन थालेका छन्।

मुस्ताङका पाँचवटै स्थानीय तहमा स्याउ टिप्ने तथा बजार पठाउने काम चलिरहे पनि सडक अवरुद्ध भएपछि बोटमै पाकेका स्याउ झर्न र कुहिन थालेका पीडित किसानको गुनासो छ । हाल ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी छ।

सडक अवरुद्धका कारण स्याउ ढुवानीमा समस्या भएपछि सोमबार पाँचवटै स्थानीय तहका किसान तथा व्यापारीको समूहले जिल्ला प्रशासन कार्यालय पुगेर सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ । तीन दर्जन किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मासमक्ष सडक अवरोधका कारण स्याउ ढुवानीमा परेको समस्या र किसानले व्यहोर्नुपर्ने क्षतिबारे जानकारी गराएका हुन् ।

थासाङ गाउँपालिका–१ टुकुचेस्थित आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले दसैँअघि स्याउ बिक्री हुने मुख्य समयमा सडक बन्द हुँदा किसानको वर्षभरिको मेहनत खेर जाने अवस्था आएको बताए। “स्याउ टिपौँ, बाटो छैन, नटिपौँ बजार लैजाने बाटो छैन,” उनले भने, “यस्तो अवस्थामा स्याउको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढेको छ । सडक चाँडै खुलिदिएको भए केही राहत हुन्थ्यो।”

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका किसान कान्छा गुरुङले मुस्ताङको ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी रहेको बताए। तीजअघि केही स्याउ बजार पठाइए पनि ठूलो परिमाणमा स्याउ अझै बगैँचामै रहेको उनले बताए। सडक खुलेपछि एकैपटक ठूलो परिमाणमा स्याउ बजार पुग्दा मूल्य घट्न सक्ने जोखिमसमेत रहेको उनको भनाइ छ।

घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान योन्तेन गुरुङले बेनी–जोमसोम सडक तत्काल सञ्चालनमा ल्याउन आयोजनाले तीव्र गतिमा काम गर्नुपर्ने बताए।सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटनसँगै कृषि क्षेत्रसमेत प्रभावित भएको उल्लेख गर्दै उहाँले स्याउ किसानलाई थप क्षति हुन नदिन राज्यका सबै संयन्त्र परिचालन गरी सडक खुलाउनुपर्ने माग गरे।

विद्युत् प्रसारणसम्बन्धी समस्या र सडक अवरोधका कारण टिपेर राखिएका पाँच ट्रक स्याउ बजार पठाउन नसकिएको उनले बताए। लामो समयसम्म राख्दा ती स्याउ कुहिएर नोक्सान हुने जोखिम रहेको उनको भनाइ छ।

वारागुङ मुक्तिक्षेत्र–४ तिरीका किसान नर्वु गुरुङले सडक सञ्चालन नहुँदा परम्परागत जातका स्याउ बोटमै पाकेर झर्न थालेको बताए। बगैँचाबाट झरेका स्याउको तस्बिर प्रमुख जिल्ला अधिकारी शर्मालाई देखाउँदै उनले किसानको पीडा बुझिदिन आग्रह गरे।

किसानका गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी शर्माले प्राकृतिक विपत्तिका कारण भएको क्षति तत्काल रोक्न नसकिने भए पनि सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो । सडक सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उनले चाँडै सडक खुल्ने बताए।

बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दी खण्डमा अपेक्षाभन्दा बढी क्षति भएकाले सडक सञ्चालनमा केही ढिलाइ भएको बताए। मालढुङ्गादेखि कोरलासम्म अधिकांश स्थानमा सडक मर्मत भइसकेको र म्याग्दीको सिरुबारी, बैसरी, पनौटो तथा पोखरेबगरमा पुलका पहुँचमार्ग मर्मतको काम बाँकी रहेको उनले जानकारी दिए।

म्याग्दी खण्डमा १३ किलोमिटर सडक मर्मत तीव्र गतिमा भइरहेको छ । बाँकी काम पूरा गर्न एक साता लाग्ने आयोजना प्रमुख शर्माले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार