फ्रान्समा साढे २ लाख बढी विद्यार्थी निस्किए सडकमा

२०८३ आश्विन २१, बुधबार

काठमाडौँ : फ्रान्सका माध्यमिक तहका विद्यार्थीले थालेको प्रदर्शन मंगलबार देशव्यापी बनेको छ।

शिक्षा क्षेत्रमा बजेट बढाउन माग गर्दै पेरिस क्षेत्रको एउटा हाइस्कुलबाट सेप्टेम्बरको मध्यतिर सुरु भएको विद्यार्थी आन्दोलन दुई साताभन्दा बढी समयदेखि जारी छ।

मंगलबारसम्म आइपुग्दा यो देशव्यापी बनेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।

मंगलबार देशभर २ लाख ६६ हजार मानिसहरू प्रदर्शनमा सहभागी भएको तथ्यांक छ।

राजधानी पेरिसमा मात्रै ५६ हजार मानिस प्रदर्शनमा सहभागी भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।

मुख्यतः शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शनको अन्त्यतिर पेरिसको एक चोकमा केही प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो।

प्रहरीले करिब ५०० जनालाई नियन्त्रणमा लिएको मन्त्रालयले जनाएको छ।

प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकड र अश्रुग्यास तथा अन्य दंगा नियन्त्रणका साधनको प्रयोगलाई लिएर विद्यार्थी, अभिभावक र शिक्षकहरूले असन्तुष्टि जनाएका छन्।

विद्यार्थी समूहहरूले आज पनि प्रदर्शनका लागि आह्वान गरेका छन्।

विद्यार्थी आन्दोलन सुरु भएयता प्रहरीले ६ हजार ५०० भन्दा बढीलाई पक्राउ गरेको बताइएको छ।

पक्राउ पर्नेमा अधिकांश नाबालिग रहेको एपीले जनाएको छ।

प्रहरीको कारबाहीका क्रममा गम्भीर चोटपटकका घटना पनि भएका छन्।

सोमबार १५ वर्षीय एक किशोरले प्रहरीको स्टन ग्रिनेडसँग सम्बन्धित घटनामा हात गुमाएका थिए। गृह मन्त्री नुनेजका अनुसार प्रदर्शनका क्रममा ७१५ प्रहरी पनि घाइते भएका छन्।

विद्यार्थीका मागमा विद्यालयमा पर्याप्त स्रोतसाधनको अभाव, कर्मचारीको कमी, अत्यधिक कार्यभार र जीर्ण भौतिक संरचना मुख्य छन्।

कतिपय विद्यालयमा डेस्क र कुर्सीजस्ता आधारभूत सामग्रीको अभाव रहेको, गर्मीयाममा कक्षाकोठा अत्यधिक तात्ने र केही विद्यालयमा मुसाको समस्या रहेको विद्यार्थीहरूले बताएका छन्।

फ्रान्सका उच्च माध्यमिक तहका विद्यार्थीले युरोपका अन्य देशको तुलनामा अनिवार्य कक्षामा लामो समय बिताउनुपर्ने विषय पनि उनीहरूको गुनासोमा समेटिएको छ।

कमजोर आर्थिक अवस्था भएका क्षेत्रका विद्यालयमा स्रोत र अवसरको असमानता रहेको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

पेरिसको २०औँ जिल्लास्थित हेलेन बुशे उच्च माध्यमिक विद्यालय पनि मंगलबार बन्द थियो।

प्रदर्शनकारीहरूले विद्यालयअगाडि फोहोरका डब्बा र साइकल तेर्स्याएर अस्थायी अवरोध बनाएका थिए।

प्रदर्शनका कारण देशभरका ८९१ विद्यालयमा मंगलबार कक्षा पूर्ण वा आंशिक रूपमा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

विद्यार्थीका माग नसुनेको आरोप खेपिरहेको शिक्षा मन्त्रालयले विद्यार्थीलाई आफ्ना समस्या र आफूले चाहेका परिवर्तनबारे आफ्नो परिचय नखुलाई जानकारी दिन सक्ने अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ।

विद्यार्थी संगठन महासंघकी अध्यक्ष सुजेन नाइडामले सरकारसँग विद्यार्थीका माग सम्बोधन नभएसम्म प्रदर्शन जारी रहने बताइन्।

‘अब तत्काल काम गर्न आवश्यक छ र यी माग पूरा गर्ने जिम्मेवारी सरकारको हातमा छ। यो राजनीतिक प्राथमिकताको विषय हो, देशका युवा र भविष्यलाई प्राथमिकता दिने विषय हो,’ उनले भनिन्।

विद्यार्थी आन्दोलनले राष्ट्रपति इमानुएल म्याक्रोंको शासनकालमा देखिएका विभिन्न आन्दोलनको शृंखलामा अर्को ठूलो चुनौती थपेको छ।

फ्रान्समा इन्धनको मूल्य वृद्धि, सार्वजनिक खर्चमा कटौती, बढ्दो गरिबी र आर्थिक असमानताप्रति असन्तुष्टि छ।

छिमेकी बेल्जियममा पनि विद्यार्थी प्रदर्शन भएका छन्।

त्यहाँको पूर्वी सहर लिजमा मंगलबार ३० जनाभन्दा बढी पक्राउ परेका र केही प्रहरी घाइते भएका छन्। ब्रसेल्ससहित अन्य सहरमा पनि साना प्रदर्शन भएका छन्।

उत्तरी सहर लिलमा प्रदर्शनमा सहभागी लेआ मोनिमार्टले विद्यार्थीका मागलाई गम्भीरतापूर्वक सुन्नुपर्ने बताइन्।

‘उनीहरू १७ वर्षका छन्, उनीहरूलाई केही थाहा छैन भन्ने होइन। उनीहरूलाई के भइरहेको छ भन्ने थाहा छ। उनीहरूको समर्थनमा वयस्कहरू पनि छन् भन्ने देखाउनु महत्त्वपूर्ण छ,’ उनले भनिन्।

गृह मन्त्री लोरेन नुनेजले भने प्रहरीको प्रतिक्रिया अधिकांश अवस्थामा उचित रहेको दाबी गरेका छन्। केही प्रदर्शन दंगामा परिणत भएकाले प्रहरीले हस्तक्षेप गर्नुपरेको उनले बताए।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले विद्यार्थीका गुनासा सुनेर समाधान खोज्न सरकार र विद्यालय प्रशासनले पहल गर्नुपर्ने बताएका छन्।

संसद्मा मंगलबार बोल्दै लेकोर्नुले विद्यालयलाई लक्षित ‘अत्यधिक हिंसा’ अस्वीकार्य रहेको बताए। प्रहरीको कारबाहीमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले कुनै पनि ‘दुर्घटना’ भए त्यसको छानबिन हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार