काठमाडौँ : हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ ।
नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी परिचालन गरेर हिउँ हटाउन थालिएको हो। असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ ।
कर्णाली करिडोरअन्तर्गत यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब १० किलोमिटर क्षेत्रमा हिउँ जमेको छ। लामो समयदेखि यातायात सेवा अवरुद्ध हुँदा हिल्सामा रहेका स्थानीय, होटल व्यवसायी तथा सरकारी कार्यालयका कर्मचारी प्रभावित भएका छन्। सडक खुलाउन हिउँ पन्छाउने काम सुरु भएपछि चीनको ताक्लाकोट क्षेत्रमा रहेका हुम्लाका नागरिकलाई समेत दसैँ–तिहारका बेला घर फर्किन सहज हुने अपेक्षा गरिएको छ ।
हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार नारा लेक क्षेत्रको ठाडो ढुङ्गामा जमेको हिउँ पन्छाउने काम बुधबार बिहानदेखि सुरु गरिएको हो। अहिले यारी क्षेत्रबाट नारा लेकतर्फ हिउँ हटाउने काम भइरहेको छ। नारा लेक पार गरेर हिल्सातर्फ जाने सडकमा जमेको हिउँ पन्छाउने कामलाई पनि तीव्रता दिइने उनले बताए।
उनका अनुसार सडकको केही भागमा करिब तीन फिट हिउँ जमेको छ। नारा लेकको हिल्सातर्फ पर्ने ओरालोको खाल्डो क्षेत्रमा भने करिब चार मिटर हिउँ थुप्रिएको छ। अत्यधिक हिउँ जमेकाले उक्त क्षेत्रमा हिउँ हटाउन बढी समय लाग्ने उनको भनाइ छ।
‘अहिले यारीबाट नारा लेकतर्फ हिउँ पन्छाउने काम सुरु भएको छ। हिउँ धेरै जमेकाले सडक सञ्चालनयोग्य बनाउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरेका छौँ,’ उनले भने।










