काठमाडौं : युरोपेली मुलुक बुल्गारियाको तटीय क्षेत्र नजिकै कालो सागरमा व्यापारिक जहाजहरूलाई लक्षित गरी गरिएको भीषण ड्रोन आक्रमणले सामरिक तनाव फेरि एकपटक बढाएको छ।
बुल्गारियाका प्रधानमन्त्री रुमेन रादेवले दिएको जानकारीअनुसार एक साताभित्र यस्तो घटना दोस्रो पटक घटेको हो। ताजा आक्रमणमा एउटा जहाज पूर्ण रूपमा डुबेको छ भने अर्को एक जहाजमा तीनवटा ड्रोन प्रहारबाट क्षति पुगेको छ।
युक्रेनी स्वामित्वमा रहेको र माल्टाको झण्डा बोकेर समुद्रमा चलिरहेको ‘चेल्सी ३’ नामक जहाजलाई बुल्गारियाको तटबाट करिब १८ नटिकल माइल (३३ किलोमिटर) टाढा राति करिब १:३० बजे तीनवटा ड्रोनमार्फत निशाना बनाइएको थियो।
आक्रमणबाट जहाजमा क्षति पुगे पनि त्यस,मा सवार सबै १५ जना (युक्रेनका ७ र अजरबैजानका ८ नागरिक) लाई सकुशल उद्धार गरिएको छ। घाइते भएका केही सदस्यहरूलाई सामान्य चिकित्सा सहायता प्रदान गरिएको छ र कसैको पनि अवस्था गम्भीर छैन।
आपत्कालीन सुरक्षा परिषद्को बैठकमा प्राप्त जानकारी अनुसार क्रापेत्सको पूर्वमा १७ नटिकल माइल टाढा आक्रमणमा परेको अर्को एक व्यापारिक जहाज समुद्रमा डुबेको छ। यद्यपि, त्यहाँ पनि उद्धार कार्य गरिएको छ।
बुल्गारियाका प्रधानमन्त्री रुमेन रादेवले आफ्ना सामुद्रिक क्षेत्रको अति नजिकै यस्ता आक्रमण हुनु पूर्णतया ‘अस्वीकार्य’ भएको बताएका छन्। यद्यपि आक्रमण कसले गराएको हो भन्नेबारे ठोस प्रमाण अझै स्पष्ट भइसकेको छैन, तर प्रधानमन्त्री रादेवले यसबाट रूसलाई प्रत्यक्ष फाइदा पुग्ने तर्क गर्दै यस मामिलामा रुसी राजदूतलाई बोलाउने घोषणा गरेका छन्।
बुल्गारिया प्रत्यक्ष रूपमा युद्धरत नरहे पनि नाटोको सदस्य राष्ट्र भएकाले कालो सागर क्षेत्रको सुरक्षा रणनीतिक रूपमा अति संवेदनशील मानिन्छ। यस घटनानंतर प्रधानमन्त्री रादेवले नाटोका महासचिव मार्क रुटेसँग कालो सागरको सुरक्षाबारे छलफल गर्ने तयारी गरेका छन्।
यस भयानक घटनाले युक्रेन द्वन्द्वका कारण कालो सागरको जलमार्गमा आवतजावत गर्ने व्यावसायिक तथा व्यापारिक जहाजहरूको सुरक्षामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।










