काठमाडाैँ : जर्मनीको बोचममा अपार्टमेन्ट भवनमा भएको आगलागीमा दुई महिला र एक पुरुष गरी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमा बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।
बर्लिनस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उत्तरी राइन–वेस्टफालिया राज्यको बोचममा भएको आगलागीमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतक तीनै जना जर्मनीमा अध्ययनरत थिए।
दूतावासका अनुसार, बर्लिनस्थित भारतीय दूतावास र फ्रान्कफर्टस्थित भारतीय महावाणिज्य दूतावास स्थानीय अधिकारी तथा मृतकका परिवारसँग सम्पर्कमा छन् । उनीहरूले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका छन् । दूतावासले शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ।
मृतकहरू २५ र २७ वर्षका दुई महिला तथा २६ वर्षीय एक पुरुष रहेको प्रहरीले जनाएको छ। जर्मन प्रहरी र अभियोजनकर्ताका अनुसार, आगलागीको कारण पत्ता लगाउन गरिएको विस्तृत अनुसन्धानले प्राविधिक त्रुटिको सम्भावना अस्वीकार गरेपछि ४१ वर्षीय बासिन्दामाथि शङ्का बढेको हो।
सन्दिग्ध व्यक्तिसँग हत्या अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूले सोधपुछ गरेका छन्। बोचम अभियोजन कार्यालयको निर्देशनमा थप अनुसन्धान भइरहेको छ।
एनाडोलु समाचार एजेन्सीले जर्मनीको सार्वजनिक प्रसारक एनडिआरलाई उद्धृत गर्दै आगलागी हुनुभन्दा एक दिनअघि भवनमा विवाद भएपछि प्रहरी बोलाइएको जनाएको छ। उक्त भवनमा यसअघि पनि पटकपटक घटना भएपछि प्रहरी पुगेको समाचारमा उल्लेख छ । यद्यपि, प्रहरीले यसअघिका घटनाको आगलागीसँग सम्बन्ध नरहेको जनाएको छ।
आगलागीको वास्तविक कारण र घटनासँग सम्बन्धित अन्य परिस्थितिबारे जर्मन अधिकारीहरूले अनुसन्धान जारी राखेका छन्।











