सुडानको दक्षिणपूर्वी क्षेत्रमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु

२०८३ कार्तिक २४, मंगलवार

काठमाडाैँ : सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यमा मंगलबार भएको ड्रोन आक्रमणमा परी नौ जना विस्थापित नागरिकको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

स्थानीय अधिकारीका अनुसार विस्थापित नागरिकहरू कुर्मुक क्षेत्रको बानी शाको गाउँबाट ब्लु नाइल राज्यको राजधानी दमाजिनतर्फ यात्रा गरिरहेका बेला उनीहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो।

कुर्मुकका आयुक्त अब्देल अती मोहम्मद अल-फाकीले सिन्ह्वासँग टेलिफोनमार्फत कुरा गर्दै आक्रमणमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) संलग्न रहेको आरोप लगाएका छन्।

यसैबिच सुडानी सशस्त्र बल (एसएएफ) ले उक्त क्षेत्रमा आरएसएफ र उसको सहयोगी समूह सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई कारबाही तीव्र बनाएको एक सैनिक स्रोतले जनाएको छ।

पछिल्ला केही महिनायता कुर्मुक क्षेत्रमा रहेका बस्ती र गाउँहरूमा ड्रोन आक्रमण बढ्दै गएको छ। यस्ता आक्रमणबाट सर्वसाधारणको ज्यान जाने तथा ठूलो संख्यामा मानिसहरू विस्थापित भएर दमाजिनतर्फ पलायन हुने क्रम बढेको छ।

सुडानमा सन् २०२३ अप्रिलको मध्यदेखि सरकारी सेना (एसएएफ) र अर्धसैनिक समूह (आरएसएफ) बीच सशस्त्र द्वन्द्व जारी छ। उक्त द्वन्द्वका कारण हालसम्म दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित हुनुका साथै देशबाहिर शरण लिन बाध्य भएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार