मिनिबस र ट्रक ठोक्किँदा २६ जनाको मृ’त्यु

२०८३ कार्तिक २९, आईतवार

काठमाडौं : भारतको उत्तरपूर्वी राज्य आसाममा मिनिबस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । शुक्रवार भएको उक्त दुर्घटनामा परी अन्य धेरै यात्रु घाइते भएका छन् ।

आसामको गोलाघाट जिल्लास्थित काजिरंगानजिकै रोङ्गाजन क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । उक्त स्थान आसामको राजधानी दिसपुरबाट करिब २७४ किलोमिटर उत्तरपूर्वमा पर्छ । प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा कलेजका विद्यार्थीहरूसमेत रहेका छन् ।

विपरित दिशाबाट आइरहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिबस पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । ठक्करको प्रभावले बसको अगाडिको भाग नराम्ररी कुच्चिएको र केही यात्रु भित्रै फसेका थिए । दुर्घटनापछि उद्धारकर्मी तथा प्रहरीले क्षतिग्रस्त बसभित्र फसेका यात्रुको उद्धार गरेका थिए।

घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ । प्रहरीकाअनुसार मिनिबस गोलाघाटबाट नागाउँतर्फ गइरहेको थियो भने कन्टेनर ट्रक माथिल्लो आसामतर्फ जाँदै थियो । सोही क्रममा दुवै सवारीसाधन आमनेसामने ठोक्किएका हुन् ।

मिनिबसमा सवार यात्रुको यकिन संख्या तत्काल खुल्न सकेको छैन । यद्यपि प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा ३५ जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण र त्यसमा सवार यात्रुको यकिन संख्याबारे थप अनुसन्धान भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार