नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो

२०८३ कार्तिक २९, आईतवार

काठमाडौँ : नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३७.३५ प्रतिशतले उकालो लागेको हो।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसपटक खुद नाफामा ४९ करोड ४९ लाख रुपैयाँको वृद्धि भएको हो।

नाफामा उल्लेख्य सुधार देखिए पनि कम्पनीको कुल सञ्चालन आयमा भने खासै परिवर्तन आएको छैन। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आय गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो तीन महिनामा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो। यस अवधिमा कुल आय ६६ लाख ४६ हजार रुपैयाँले बढेको देखिन्छ।

कम्पनीले आफ्नो मुख्य व्यावसायिक गतिविधिबाट कति सञ्चालन मुनाफा कमाइरहेको छ भन्ने देखाउने वित्तीय सूचक ईबीआईटीडीए भने घटेको छ। ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा गत वर्षको ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँबाट घटेर चालु आर्थिक वर्षमा ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। यो ६.१३ प्रतिशतको गिरावट हो।

यसको विपरीत करअघिको नाफामा सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको करअघिको मुनाफा अहिले २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार