काठमाडौं : युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेले डेनमार्कमाथि ३–२ गोल अन्तरको नाटकीय पुनरागमन जित दर्ता गरेको छ। सुरुआती १४ मिनेटमै २–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै नर्वेले उत्कृष्ट पुनरागमन गरेको हो।
घरेलु टोली डेनमार्कले खेलमा आक्रामक सुरुआत गर्दै ११ औँ मिनेटमा रास्मस होइलुन्डको गोलमार्फत १–० को अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि अर्थात् १४औँ मिनेटमा पियरे–एमिल होइबियरले गोल थप्दै डेनमार्कको अग्रता दोब्बर पारे।
तर, ३७औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई खेलमा फर्काउने सङ्केत दिए। पहिलो हाफमा २–१ ले पछि परेको नर्वेले दोस्रो हाफको अन्तिम समयमा आक्रमक खेल पस्कँदै खेल आफ्नो पक्षमा पार्यो। खेलको ८३औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले उत्कृष्ट गोल गर्दै खेल २–२ को रोमाञ्चक बराबरीमा ल्याए।
निर्धारित समय बराबरीतर्फ उन्मुख भइरहेका बेला इन्जुरी समयको छैटौँ मिनेटमा पाएको पेनाल्टी अवसरलाई हालान्डले सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे र नर्वेलाई ३–२ को सनसनीपूर्ण जित दिलाए। यस नतिजासँगै नर्वे समूह ‘डी’ को दोस्रो स्थानमा उक्लिएको छ भने पराजित डेनमार्क तेस्रो स्थानमा झरेको छ।











