तीन तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

२०८३ मंसिर १२, शनिबार

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य प्रभावकारी बनाएर मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिने बताएका छन् । तीन तहका सरकारबिच प्रभावकारी समन्वय हुन नसके नागरिकले पाउने सेवामा समस्या आउन सक्ने उल्लेख गर्दै उनले सहअस्तित्वको भावनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

तानसेन नगरपालिका कार्यालयले शनिबार आयोजना गरेको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारहरूबिचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने बताए ।

सातै प्रदेशका प्रतिनिधिहरू ऐतिहासिक तथा सांस्कृतिक नगरी तानसेनमा सहभागी हुनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले विभिन्न स्थानीय तहले गरेका असल अभ्यास, अनुभव र उपलब्धिबारे छलफल हुने विश्वास व्यक्त गरे । यस्ता छलफलबाट साझा निष्कर्ष निकाल्दै एक अर्काका सफल अभ्यासलाई आत्मसात् गर्न सकिने उनको भनाइ थियो ।

प्रदेश र स्थानीय तहबिच सहकार्य प्रभावकारी बनाउन कस्ता कानुन आवश्यक छन् र ती कानुनबाट कसरी परिणाम हासिल गर्न सकिन्छ भन्ने विषयमा पनि गहन छलफल हुनुपर्ने उनले बताए ।

स्थानीय तहले आफ्नो कार्यक्षेत्रमा आवश्यक कानुन निर्माण गरिसकेको भए पनि तीन तहका सरकार बिचको समन्वयलाई व्यवस्थित बनाउन थप छलफल र साझा समझदारी आवश्यक रहेको उनले उल्लेख गरे । अन्य प्रदेश तथा पालिकाका अनुभव र सिकाइलाई आफ्नो कार्यक्षेत्रमा अनुसरण गर्न सके विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने मुख्यमन्त्री आचार्यले बताए ।

पर्यटकीय सम्पदा, ऐतिहासिक महत्त्व र सांस्कृतिक पहिचानले समृद्ध लुम्बिनी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै उनले तानसेनमा आयोजित कार्यक्रमले स्थानीय तहबिच अनुभव आदानप्रदान र सहकार्यको आधार बलियो बनाउने विश्वास व्यक्त गरे ।

मङ्सिर १२ र १३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधिबिच अन्तरपालिका सिकाइ, अनुभव आदानप्रदान र आपसी सहकार्यका विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार