उड्नै लागेको दुई विमानका पखेटा ठोक्किए

२०८३ मंसिर १२, शनिबार

काठमाडौं : अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेका अमेरिकन एयरलाइन्सका दुई विमान एकआपसमा ठोक्किएका छन्। स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ५ बजेर १० मिनेटमा दुई बोइङ ७३७ विमानका पखेटा आपसमा ठोक्किएका हुन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार एउटा विमानको पखेटाले अर्को विमानको पखेटामा छोएको थियो। घटनामा कोही घाइते भएका छैनन्। दुवै विमानलाई उडान रोक्दै पार्किङ स्थलमा फर्काइएको छ। अमेरिकन एयरलाइन्सले प्राविधिक टोलीले जाँच गर्न दुवै विमानलाई सेवाबाट हटाएको जनाएको छ।

उक्त घटनामा अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ठक्कर दिएको एफएएले जनाएको छ। फ्लाइट २१५२ सिकागो र फ्लाइट ६३८ डलास–फोर्ट वर्थका लागि उड्ने तयारीमा थिए। बिबिसीका अनुसार फ्लाइट २१५२ मा रहेका एक यात्रुले विमान अघि बढिरहेका बेला दायाँतर्फ ठूलो झट्का महसुस गरेको बताएका छन्।

ठक्करपछि विमान निकै हल्लिएको र यात्रुहरू आत्तिएको उनले बताए। झ्यालबाट बाहिर हेर्दा विमानको पखेटाको टुप्पो भुइँमा खसेको देखेको उनको भनाइ छ। दुवै विमानका पखेटाका टुप्पा आपसमा ठोक्किएको अमेरिकन एयरलाइन्सले पुष्टि गरेको छ। घटनापछि विमानबाट बाहिर निकालिएका यात्रुलाई गन्तव्यसम्म पुर्‍याइएको कम्पनीले जनाएको छ।

यो विमानस्थलमा यसअघि पनि ठूलो दुर्घटना भएको थियो। सन् २०२५ जनवरीमा यही विमानस्थलनजिकै अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। यात्रुवाहक विमानमा रहेका ६४ र हेलिकप्टरमा रहेका तीन सैनिकको मृत्यु भएको थियो।

उक्त दुर्घटनापछि विमानस्थल आसपास सेनाका हेलिकप्टरको परीक्षण उडान रोकिएको थियो। तर अमेरिकी सेनाले यसै साता पुनः परीक्षण उडान सुरु गर्ने योजना बनाएको बिबिसीले जनाएको छ। शुक्रबारको घटनाबारे एफएएले अनुसन्धान गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार