७० वर्षे उमेर हद हटेपछि केपी ओलीले फोन गरे एमाले फर्कन तयार छु : बामदेव

२०८० जेष्ठ २४, बुधबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर अलग्गै गतिविधि गरिरहेका बामदेव गौतमले नेकपा (एमाले)मा आउन तयार रहेको बताएका छन्।

एमालेले कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हदको बाधा फुकाएपछि राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम उत्साहित देखिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन पटक भेटवार्ता भएर एमालेमा आउन तयार रहेको बताएका गौतम नेतृत्वले पहल गरे आफू फर्कने बताएका हुन्।

‘मैले औपचारिकरूपमा थाहा पाउनु परेन?,’ गत जेठ १९ गते एमाले सचिवालय बैठकले उमेर हद निलम्बन गरेको विषय प्रष्ट्याउँदै उनले बुधबार भने, ‘अहिलेसम्म जम्मा मुकुन्द न्यौपानेलाई ल्याउनका लागि गरिएको छ।’

उनले यसबारे एमाले अध्यक्ष ओलीले फोनबाट जानकारी गराएर पार्टीमा आउन भने पनि आफू फर्कन इच्छुक रहेको संकेत गरेका हुन्।

‘निलम्बन भनेको के हो? केही समयका निम्ति काम गर्न नदिने होइन? यो निलम्बन आगामी ६ महिनासम्म, पार्टीको एघारौँ महाधिवेशनसम्मको निम्ति मात्र हुन पनि सक्छ। निलम्बनसम्बन्धी निर्णय गरेपछि वरिष्ठ नेताहरू आउनुभयो, तपाईंलाई लैजानेबारे अध्यक्षले निर्णय गर्नुहुन्छ भन्नुभयो। अध्यक्षले फोनबाट बोलाए पनि त भयो नि?,’ उनले भने।

बुधबार संघीय संसदको दुवै सदनको बैठक सकिएपछि सूर्य थापा, सूर्य ढकाललगायत एमाले सांसदहरूले घेरेर बामदेवलाई पार्टीमा फर्कन आग्रह गरेका थिए। पार्टी नेतृत्वले आधिकारिकरूपमा बोलावट नगरेको बताउँदै उनले भने, ‘जानुस् केपी ओलीलाई गएर भन्नुस्, उहाँ आउन तयार हुनुहुन्छ।’

उनले ओलीसँग भेट हुँदा पार्टीका उमेर हद हटाउने प्रसंग उठेको बताए। ‘पार्टीमा ७० वर्ष कटेका साथीहरूले उमेर हद हटाउनुपर्छ भनिराख्नु भएको छ। अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, केशव बडालले पनि भन्दै हुनुहुन्छ भनेर उहाँले भन्नुभएको थियो,’ सांसद गौतमले भने, ‘मुकुन्द न्यौपानेलाई लैजान हटाउनु भयो, मलाई लैजान त हटाउनु भएन!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार