काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको आरोपमा आयोगले शुक्रबार शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार शाहीले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरी गर्न लगाई अख्तियारको दुरुपयोग गरेका हुन् । शाहीले प्रयोगात्मक परिक्षामा सहभागी नै नभएका ३९ जनालाई उत्तीर्ण भनेर सिस्टममा प्रविष्ट गरेको दावी गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा शाही यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा कार्यरत रहेका बेला उक्त बदमासी भएको अख्तियारले जनाएको छ ।
अख्तियारले सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध पनि मुद्धा दायर गरिएको छ । अख्तियारले शाहीको निर्देशनमा कठरिया र रावलले फिल्ड प्रतिवेदन नै सच्याएको जनाएको छ ।





