सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ : एमाले प्रमुख सचेतक गिरी

२०८० असार १२, मंगलवार

काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएको बताएका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन कार्यालय खारेज गर्ने र सिडिओ कार्यालयमा गाभ्न लागिएको भन्दै उनले यो नियोजित ढंगले आएको बताएका हुन्।

‘सरकार नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्न चाहन्छ। सरकारले नजानी नबुझिकन यो ल्याएको छैन। सरकार यो मुलुकमा निष्पक्ष निर्वाचनको विपक्षमा छ। नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहित छ। यो सबै कुरालाई बुझेर निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने कार्यालयलाई खारेज गराउने र सिडिओ कार्यालयको एकाइका रूपमा राख्ने काम नियोजित ढंगले भएको हो,’ उनले भने।

उनले २०५४ सालभन्दा अगाडि पनि यो व्यवस्था भएको र सफल हुन नसकेको बताए। विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सा‌सदहरूले पनि जिल्ला निर्वाचन कार्यालय खारेज गरेर सिडिओमा गाभ्दा निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै उठेर विरोध जनाए। पार्टीका सभापति रवि लामिछानेले अथमन्त्री प्रकाशशरण महतले यसबारे सुरूमै जवाफ दिनुपर्ने बताए।

यता कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यसबारे निर्वाचन आयोगको सर्वदलीय बैठकमा छलफल भएको र खारेज नगर्ने समझदारी भइसकेको बताए। अर्थमन्त्री महतले यसबारे‍ थप प्रकाश पार्ने भन्दै सदनलाई नियमित कार्यसूचीमा अघि बढ्न दिन आग्रह गरे। विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटलाई स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार