वैदेशिक रोजगारलाई पारदर्शी र जवाफदेही बनाउँछौंँ : मन्त्री यादव

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई पारदर्शी र जवाफदेही बनाइने बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय माइग्रेसन (आइओएम)ले आज यहाँ आयोजना गरेको वैदेशिक रोजगारीसम्बन्धी बहस कार्यक्रममा मन्त्री यादवले पारदर्शिता र जवाफदेहिताको अभावमा वैदेशिक रोजगारीमा जानेले दुःख पाउने गरेको बताए । सो अवसरमा उनले ‘फ्रि टिकट, फ्रि भिसा’लाई कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।

वैदेशिक रोजगारलाई पारदर्शी र जवाफदेही बनाउने विषयलाई सरकारको सुशासनसम्बन्धी १०० बुँदामा पनि समावेश गरिएको उल्लेख गर्दै मन्त्री यादवले यसलाई मन्त्रालयले प्राथमिकताका साथ कार्यान्वयन गराउने बताए ।

कार्यक्रममा आइओएमका प्रमुख हेलेने फोर्सले वैदेशिक रोजगारलाई पारदर्शी, जवाफदेही र जिम्मेवार बनाउन विश्वका विभिन्न देशमा यस्ता बहस कार्यक्रम गर्ने गरिएको जानकारी दिए । त्यसै क्रममा नेपालमा यो कार्यक्रमलाई सहयोग गरिएको उनको भनाइ थियो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएकाले राष्ट्रिय रोजगार नीति तर्जुमाको काम भइरहेको बताए । श्रम आप्रवासन नीति २०८२ समेत तर्जुमा भइसकेको जानकारी दिदै उनले यसबाट वैदेशिक रोजगारका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार