काठमाडौँ : नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दलहरूबाट ठुलै त्रुटि भएकाले सामान्य आत्मसमीक्षाले नपुग्ने बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले साम्राज्यवादको हस्तक्षेपविरुद्ध कुनै कदम चाल्न नसकिएको उल्लेख गर्दै यस्ताे बताएका हुन्। देश सुगौली सन्धिपछिकै सबैभन्दा धेरै निरीह अवस्थामा पुगेको बताउँदै उनले भने, ‘अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेनाको शक्ति अहिले यो निरीह अवस्थामा केले पुग्यो ?’
जनयुद्ध र जनआन्दोलनका रूपमा नेपाली जनताको विद्रोहको तागत प्रदर्शन गर्ने वामपन्थीहरूसमेत भदौ २३ र २४ मा निरीह देखिएका बताउँदै प्रचण्डले त्यसको कारणबारे समीक्षा गर्नुपर्ने बताए। विगतमा गरेजस्तो सामान्य आत्मसमीक्षाले नहुने उल्लेख गर्दै उनले भने, ‘तर, यसपटक त्यस्तो सामान्य समीक्षा र सामान्य आत्मालोचनाले पुग्ने स्थिति छैन। हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौँ।’
सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरू सहकार्यमा आउनुपर्छ भन्ने कुरामा कसैको विमति नरहे पनि त्यसको ‘जोड र कोण’ भने फरक–फरक रहेको प्रचण्डले बताए।





