पशुपतिको सुन कसैले खाएकै रैछ भनेपनि मसँग सम्बन्धित छैन : केपी ओली

२०८० असार १४, बिहीबार

भरतपुर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए।

अध्यक्ष ओलीले भने, ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन। तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ।’ पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको पनि उनले बताए।

अर्को एक प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए। ‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो,’ ओलीले भने। यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उनले भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ। अलिक दिन त्यसले पनि मार्केट पायो।’

केही दिनपछि ११ किलो सुन कहाँ गयो? भन्ने प्रश्न आएको भन्दै उनले प्रतिप्रश्न गरे। ‘यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको?’

‘शिलान्यास गरेका ठाउँमा शिलान्यास गर्नेको नाम लेखेको हुँदैन र? उहाँहरुको नीजि खर्चबाट बनाएको हो र? त्यो त मलाई त थाहा हुने कुरा भएन नि! मलाई किन सोध्नुहुन्छ? मलाई थाहा छ र?’, उनले थपे, ‘पशुपतिमा चढाएको जलहरीको सन्दर्भमा के भएको रहेछ? ११ किलो सुन कसैले खाएको रहेछ? खाएको रैछ भनेपनि मसँग सम्बन्धित विषय होइन।’

उनले आफूले पशुपति विकास कोषलाई पैसा दिने मात्र काम गरेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार