दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बलात्कारको आरोपमा उनलाई दार्चुला जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको घटना प्रकाशमा आएपछि वडा अध्यक्ष धामी माघ महिनादेखि फरार थिए । उनलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथि अभियोग लगाई अदालतमा पेस गरेको हो ।
दार्चुला जिल्ला अदालतले वडा अध्यक्ष धामीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। गत वर्ष वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा धामी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।





