बझाङबाट काठमाडौं आउँदै गरेको नाइट बस कपिलवस्तुमा दुर्घटना

२०८० असार १५, शुक्रबार

काठमाडौं : कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ। बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा चालिस यात्रु सवार थिए।

घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए। उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए। उनका अनुसार त्यो ठाउँ दुर्घटना धेरै हुनेमध्येको ठाउँ हो। दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो।

सकुशल रहेका यात्रुहरूलाई अर्को बस चढाएर काठमाडौं पठाइएको छ। दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डिएसपी घलेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार