सुर्खेत : पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख दत्त बुढाथापा माथि भएको कुटपिटको घटनाको विषय संसदमा पनि उठेको छ । सोमबार प्रदेश सभाको २४ औँ बैठकमा स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाहीले उक्त घटनालाई आक्रोशित तरिकाले उठाए ।
कार्यालयमा काम गरिरहेका प्रमुख बुढाथापामाथि एमालेका नेता एवं पूर्व सांसद दानसिंह परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले शनिबार सांघातिक आक्रमण गरेका थिए । आइतबार उनीहरुविरुद्ध मुद्धा दर्ता भइसकेको छ ।
स्वतन्त्र सांसद शाहीले हाकिम बुढाथापामाथि सामान्य व्यक्तिबाट नभई पूर्व सांसद र वडाध्यक्षबाट नै कुटपिटको घटना हुनु राम्रो नभएको बताए ।
‘कर्मचारी सहजकर्ता हो, उनीहरुमापथि हातपात गर्न नहुने र चित्त नबुझेको खण्डमा सम्बन्धित निकायमा उजुरी दिन सकिन्छ,’ एमालेप्रति आक्रोशित हुँदै शाहीले भने,‘एमालेका साथीहरुलाई, संसदीय दलका नेता यामलाल कँडेललाई भन्न चाहन्छु, उहाँ (परियार) हिजो प्रदेश सभा सदस्य हो । प्रदेशको पैसा लिएर हिनामिना गरेर भ्रष्टाचार गर्न बानी परेकाहरु कर्मचारीलाई कुट्दै हिँड्ने ?’





