१० कट्ठा जग्गाका लागि ‘कन्ट्याक्ट किलर’ लगाएर सौताको हत्या

२०८० श्रावण १५, सोमबार

धनगढी : कैलालीको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मञ्जु रावलको हत्या भएको अवस्थामा आइतबार उनको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदीप चन्दका अनुसार मञ्जुको हत्या ४० वर्षीया उनकै श्रीमानकी अर्की पत्नी (सौता) गोमा रावलले ‘कन्याक्ट किलर’ द्वारा गर्न लगाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

मञ्जुको शव कैलालीको मोहन्याल गााउँपालिका ५ बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट करिब २ सय मिटर पश्चिमतर्फको खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको अवस्थामा फेला परेको हो । कंकालहरु वरपर छरिएर रहेको अवस्थामा फेला परेको प्रवक्ता चन्दले बताए । हड्डीसँगै बेरिएर रहेको कपडाको आधारमा मञ्जुका छोराले आमाको सनाखत गरेका हुन् । हत्यामा संलग्नताको आरोपमा पक्राउ परेकी सरिता रावलको बयानका आधारमा मञ्जुको शव भेटिएको हो ।

डेढ महिनाअघि जेठ २५ गते वकिललाई भेट्न भनेर भल्कास्थित घरबाट निस्किएकी मञ्जु नफर्किएपछि असार १ गते आमाको खोजी कार्यका लागि उनका छोरा विवेकले इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।

गोमाले मञ्जुको हत्या गर्न लम्कीचुहा ४ भल्काकै वर्षा रावल, भरत रावल, अछाम पञ्चदेवल विनायक नगरपालिका ६ तोलीकी ३७ वर्षीया सरिता रावलद्वारा हत्या गराएको खुलेको प्रवक्ता चन्दले बताए । घटनापछि गोमासहित उनीहरुलाई पक्राउ गरिएको छ । हत्यामा संलग्न रहेको अनुमान गरिएका अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

मञ्जुको हत्या गर्न पैसाको प्रयोग गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘गोमाले मञ्जुको हत्या गर्न पैसा दिएर गर्न लगाएको प्रारम्भिक जानकारी हुन आएको छ,’ प्रवक्ता चन्दले भने ‘कति पैसा दिइएको थियो, हत्याअघि बलात्कार भए नभएको लगायतका विषयमा अनुसन्धान जारी छ ।’

१७ वर्षीय छोरा विवेक रावलले ‘सौतेनी आमा’ले आफन्तहरुलाई पैसा दिएर हत्या गर्न लगाएको दाबी गरे । ‘आमा डेढ महिना दिनदेखि बेपत्ता हुनुहुन्थ्यो, तर कसैले वास्ता गरेनन् । धेरैको मिलेमतो छ जस्तो लाग्छ,’ विवेकले भने, ‘९ वर्षकी बहिनी छ । हामीलाई टुहुरा बनाए अपराधीहरुले । अब हामीलाई न्याय चाहियो ।’

मञ्जुका १७ वर्षीय छोरा र ९ वर्षीया छोरी छन् । श्रीमान जनक रावलको अढाई वर्षअघि मृत्यु भइसकेको छ । मञ्जु जनककी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीबाट दुई छोरी छन् । श्रीमानको मृत्युपछि १० कट्ठा जग्गाका लागि गोमाले मञ्जुको हत्या गर्न लगाएको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार