‘हाम्रो पार्टी रावण जस्तो भयो’ : झलनाथ खनाल

२०८० श्रावण २१, आईतवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी खिइँदै गएको भन्दै पार्टी बैठकमा आलोचनात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । पार्टीको स्थायी कमिटीको बैठकमा खनालले प्रस्तुत गरेको १६ पृष्ठको राजनीतिक प्रतिवेदनमा अहिले पार्टीमा कुनै उत्साहजनक अवस्था नरहेको उल्लेख छ ।

राजनीतिक प्रतिवेदनमा उनले पार्टी संगठनको अवस्थालाई राणवको शरीरसँग तुलना गरेका छन् । ‘हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनो भएर उभिन पनि गार्‍हो पर्ने अवस्थामा भएको महसुस हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ‘त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो । ‘

खनालको प्रतिवदेनमा भनिएको छ – पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तहसम्म देखिन्छ, कतिपय ठाउँमा तलसम्म पनि छ । जनवर्गीय संगठनको ढाँचा विकास गरिएको छ । युवा विद्यार्थी संगठन पनि छन् तर निष्क्रिय र दिशाहीन छन् । ‘आम कार्यकर्ताहरुमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्ति विकास भइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । उनले स्थानीय चुनावको समयमा ६ लाख भोट आएकोमा अहिले आमनिर्वाचनसम्म आइपुग्दा ५० प्रतिशत कम भएर ३ लाखमा झरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यस्तै वैचारिक भिन्नता देखाउन नसक्दा पार्टीका कार्यकर्ताहरु एमालेका फर्किन थालेको निष्कर्ष नेता खनालको छ ।

‘हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन । हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र (एमाले)मा पनि जबजकै धङधङी छ,’ उनले भने ‘त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक/सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ ।’

पार्टीभित्र कहाँ कमजोरी छ र कुन कमजोरीका कारण यस्तो भइरहेको भन्दै उनले प्रतिवेदनमार्फत प्रश्न गरेका छन् । खनालले प्रश्न गर्दै प्रतिवेदनमा लेखेका छन्, ‘हामीले यी सम्पूर्ण कमी कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरुलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सवल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अन्तरविरोध र प्रधान प्रतिद्धन्द्धीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ ।’

उनले वैचारिक रुपमा स्पष्ट भए मात्रै पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको सञ्चार हुने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार