काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालेले आवेगमा संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै शर्माले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद् खुल्ने बताए । उनले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताए । शर्माले प्रतिपक्षले उठाएको गम्भीर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताए ।
उनले भने,‘नेपाली समाजमा हामी अलि बढी आवेगमा छौँ । हित र अहितलाई बुझ्ने विवेक हो तर विवेकलाई भन्दा पनि आवेगलाई बढी प्राथमिकता दिएका छौँ । अहिले काँग्रेस र एमाले गठबन्धनमा छैनौँ । गठबन्धन भयो भने केपी कमरेडका साराकुराहरु राम्रा देख्न थाल्ने र गठबन्धनमा छैनौँ भने सारा कुरा नराम्रो देख्ने हुन्छ । तर हरेक कुरालाई वस्तुगत भएर हे¥यो भने सबैकुरा सकारात्मक हुन्छ ।’





