काठमाडौँ : अलराउण्डर सीता राना मगरको घातक बलिङमा चार देश सम्मिलित महिला टि २० आई खेलमा नेपालले जितका लागि ८५ रनको सामान्य लक्ष्य पाएको छ।
मलेसियाको वायोमास ओलल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा ८४ रन बनाउँदा अलआउट भयो। हङकङकी यास्मिन दासवानी ६ रन बनाउँदा पुजा महतोको हातबाट बोल्ड आउट भईन्।
अलराउण्डर पुजाले डेब्यु खेलमा नै विकेट लिएकी छिन्।
मारिको तविथा ओटा ६ रन बनाउँदा कविता विकको बलमा सीता रानाको हातबाट क्याच आउट भईन्। सिंगयान डोरोथिया चान १६ रन बनाउँदा सिता रानाको बलमा कविता विकले क्याच आउट गराउँदै पवेलियनको बाटो देखाइन्। सीताले नै का मन चाङलाई शुन्य रनमा तथा शान्जिन शहजादलाई २ रनमा एलबीडब्लु धरापमा पारिन्।
सीताले नै रुचिथा भेन्काटेसलाई १ र बिबि मर्यामलाई ९ रनमा एलबीडब्धु धरापमा पारिन्। का यिङ चान ३४ रन बनाउँदा कप्तान रुविना क्षत्रीको हातबाट आउट भइन्। नेपालका लागि सीता राना मगर एक्लैले ५ विकेट लिईन्। सीताले ४ ओभरमा १६ रन खर्चेर पाँच विकेट लिएकी हु्न्। इन्दु बर्माले दुई विकेट झारिन्। रुविना क्षत्री, पुजा महतो र कविता कुवँरले समान एक विकेट लिए।





