काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको परिवार नै कालोसूचीमा परेको छ। कर्जा सूचना केन्द्रले उनको परिवारका विभिन्न सदस्यलाई कालोसूचीमा राखेको हो।
राजकर्णिकारले जग्गा खरिद गरेर खातामा मौज्दात नभएको चेक काटेर दिएका थिए। उनले पछि सोही जग्गा नबिल बैंकमा धितो राखेर ऋण लिएको पनि बुझिएको छ । उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा) को चेक अनादर गरेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको बुझिएको छ।
उनीसँगै उनको छोरा समृद्धि राजकर्णिकार र प्रदिता राजकर्णिकार पनि कोलोसूचीमा परेका छन्। उनीहरुले पनि फुड प्रोजेक्ट नामक कम्पनीको नाममा लिएको ऋण नतिरेपछि कालोसूचीमा परेको बुझिएको छ।
यस्तै, कर्जा नतिरेको भन्दै सहकारीले पनि उनको सम्पत्ति लिलाम गर्न खोज्दैछ। ललितपुरमा रहेको लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले भाष्करराज राजकर्णिकार र उनको छोरीको नाममा रहेको सम्पत्ति लिलामी गर्ने सूचना सार्वजनिक गरिसकेको छ ।
भाष्कर र समृद्धि राजकर्णिकारले लिएको कर्जा समयमा नै नतिरेको भन्दै सहकारीले दुवै जनाको सम्पत्ति लिलाम बिक्री गर्न ३५ दिने सूचना निकालेको छ। राजकर्णिकारले एभिन्यूज नेटवर्क्स प्रालिको नाममा लिएको कर्जा नतिरेपछि सम्पत्ति लिलाममा राख्ने जनाएको छ।
यस्तै, सहकारीले भाष्कर राज राजकर्णिकारको नाममा रहेको भरतपुर नगरपालिका-७ मा रहेको कित्ता नम्बर ३०५८ मा रहेको १० कठ्ठा, भतरपुर नगरपालिका-२३ मा रहेको कित्ता नम्बर १३२ र ७४० को १ बिघा, ११ कठ्ठा र २ बिघा जग्गा लिलामी गर्ने जनाएको छ भने समृद्धि राजकर्णिकारको नाममा मालपोत कार्यालय चाबहिलमा दर्ता रहेको बुढानीलकण्ठ नगरपालिका-३ मा रहेको कित्ता नम्बर ३२२ मा रहेको २ रोपनीमा रहेको घर जग्गा लिलामी गर्ने भएको हो।





