इमरान खानको जेल सजाय निलम्बन

२०८० भाद्र १२, मंगलवार

इस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय एक उच्च अदालतले निलम्बन गरिदिएको छ। द डन समाचार पत्रका अनुसार इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय निलम्बन हुने फैसला गरेको हो।

मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो। पाकिस्तानको निर्वाचन आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै ट्रायल कोर्टले इमरानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशसँगै इमरान जेल गएका थिए भने पाँच वर्षसम्म चुनाव लड्न अयोग्य भएका थिए।

उक्त आदेशविरूद्ध इमरानले उच्च अदालतमा पुनरावेदन दिएका थिए। उच्च अदालतले इमरानलाई धरौटीमा रिहा गर्न पनि आदेश दिएको छ। तर अरू विभिन्न मुद्दा पनि चलिरहेका इमरान तत्काल जेलमुक्त हुन्छन् कि हुँदैनन् भन्ने एकिन छैन। पाकिस्तानमा केही महिनामै आमनिर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार