अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा गौतम पक्राउ

२०८० भाद्र २२, शुक्रबार

काठमाडौँ : ‘अमेरिका पठाउँछु’ भनेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले अमेरिकाको टेक्सामा बस्दै आएका हस्त गौतम उर्फ मृदुललाई पक्राउ गरेको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका घर भएर अमेरिका बस्दै आएका गौतमलाई बुधवार रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।

एजेन्टहरुमार्फत ‘अमेरिका सपना’ देखाएर गौतमले ठुलो रकम असुल्ने र थप पैसा माग्दै विभिन्न देशहरुमा बन्धक बनाएर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।  उनले आफ्नो बेस मेक्सिकोमा बनाएर असुली गर्दै आएको अनुसन्धानबाट थाहा भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट गौतमको समूहले २ करोडभन्दा बढी असुलेको डिएसपी विष्टले जानकारी दिए । उनको समूहले नेपाली नागरिकहरुलाई अमेरिका पठाउने नाममा दुबई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङ लगायतका देशहरुमा लगेर राहदानी र मोबाइल जफत गरेर ठुलो रकम माग्ने गरेका थिए ।

अमेरिका पठाउने नाममा विभिन्न मुलुकमा लगेर बन्धक बनाएको आरोपमा गौतम सहितका प्रतिवादीहरुविरुद्ध ५ वटा मुद्दा दर्ता भएको छ । यसअघि ब्यूरोले कमल तामाङसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । फरार हस्त गौतमलाई पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।

आरोपीतहरुले अमेरिका पठाउने नाममा ६ जनालाई बेचबिखन गरेको र तीमध्ये २ जनाको उद्धार गर्न पक्रिया जारी रहेको प्रहरीको भनाई छ । हस्त गौतमले २ सय नेपालीलाई अमेरिका पठाएको बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट १३ जना नेपालीलाई गौतमको समूहले अलपत्र बनाएर छाडेको थाहा भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार