सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको तीन महिनाको अवधिमा विपद् तथा दुर्घटनामा परेका ३ सय ४७ जना नागरिकको सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरीका अनुसार सो अवधिमा नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका र बगाएका २ सय ११ वटा घटनाबाट ८६ जनाको जीवितै उद्धार गरिएको छ भने मृत्यु भएका १ सय २२ जनाको शव निकालिएको छ। यस्तै, बाढी, डुबान र कटानको जोखिममा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

देशका विभिन्न भागमा भएका सडक दुर्घटनाहरूबाट ६ जनाको तत्काल सकुशल उद्धार गरिएको र ८ सय ७ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। हावाहुरीमा परेका १२ जना र पहाडी क्षेत्रमा गएको पहिरोमा परेका ४ जनाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीले देशभरका २ सय २६ स्थानमा भएको आगलागी नियन्त्रणमा लिँदै आगलागीमा परेका ४ जनाको समेत सकुशल उद्धार गरेको जनाएको छ।

जटिल प्रकृतिका जल विपद्का ३१ वटा घटनामा गोताखोर टोलीले ३ जनाको सकुशल उद्धार गरेको छ भने १४ जनाको शव फेला पारेको छ। विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले ४ सय ६४ वटा विद्यालय र ५ सय ४१ वटा क्लब तथा समुदायस्तरमा जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ। ४७ हजार ६ सय ८१ जना सहभागी भएका ती कक्षाका साथै पूर्वतयारीका लागि १ सय २९ वटा कृत्रिम घटना अभ्यास समेत गराइएको छ।

यस्तै, समुदायस्तरमा दक्ष जनशक्ति तयार पार्न सञ्चालित ४० वटा तालिमबाट ३ सय ५३ महिला र ७ सय ३१ पुरुष गरी १ हजार ८४ जना नागरिक विपद् स्वयंसेवकका रूपमा तयार भएका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार देशभर २८ हजार २ सय ८१ जना कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी विशेष अनुशिक्षण तालिम दिइएको छ। जुनसुकै समयमा परिचालन हुन सक्ने गरी ८ हजार १ सय ८० जना जनशक्ति २४सै घण्टा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

विपद् उद्धारको समय घटाउन देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली खटाइएको छ भने १६ वटा अति जोखिमयुक्त स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ। १ सय ३४ जना गोताखोरलाई उपकरणसहित ११ स्थानमा तैनाथ राखिएको छ।

उद्धारका लागि ८२ वटा राफ्ट बोट, ५३ वटा मोटर बोट, ८ वटा ‘मास क्याजुअल्टी भेइकल’, ८ वटा ‘ए’ क्लास एम्बुलेन्स, १० वटा आइआरटी भेइकल र सडक खुलाउन १३ वटा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राखिएका छन्। १३ जिल्लाका विभिन्न स्थानमा २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनरहरू समेत राखिएको छ।

सशस्त्र प्रहरीले आपद् विपद्मा परेका नागरिकहरूलाई तत्काल उद्धार तथा सहयोगका लागि आफ्नो टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोल फ्री नम्बर १२३४ मा समेत सम्पर्क गरी उद्धार र राहतका लागि सहयोग लिन सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार