काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पछिल्ला दिनमा ठूला राजनीतिक नेताका लागि टाउको दुखाइ बनेका छन्।
एकपछि अर्को फाइल खोल्दै गर्दा उनलाई शीर्ष राजनीतिक नेतृत्वबाट इबिसाधनाको दृष्टिले हेरिदै आएको छ। मुख्य रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त श्रेष्ठसँग सन्तुष्ट छैनन्। आफ्ना नेताकार्यकर्ता विभिन्न काण्डमा डामिदिएको र कतिलाई हिरासतमै लिएका कारण ओलीको असन्तुष्टी छ। पछिल्लो समय ओली सम्मिलित फाइल नै खुल्ने देखिएपछि त गृहमन्त्रीसँग झनै अुसन्तुष्ट छन्।
गृहमन्त्रीले इस्टबाजी गरेको, आफ्नालाई जोगाएर अरुकालाई पक्राउ गरेको समेत सार्वजनिक मन्चबाट ओली बताइरहेका छन्। सुन प्रकरणमा गृहमन्त्री मातहतमा रहेको सीआईबीले अनुसन्धान गर्न नसक्ने भन्दै उच्च स्तरीय समिति बनाउन नै लगाए। तर पछिल्ला केही दिनमा गृहमन्त्रीसँग सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति पनि असन्तुष्ट छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र बालकृष्ण खाणलगायतलाई पक्राउ गरेको विषयमा देउवा असन्तुष्ट छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी एवं कांग्रेस सांसद आरजु राणाको समेत नाम जोडिएको थियो। यही कारण देउवा दम्पत्ति नै गृहमन्त्रीसँग असन्तुष्ट छन्। गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूरक अनुसन्धान थाल्ने बताएका थिए। तर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थप अनुसन्धान नगर्न अनुरोध गरे।
कांग्रेस स्रोतका अनुसार त प्रचण्डसामुु देउवाले गृहमन्त्री फेर्न समेत दबाब दिइरहेका छन्। उनले गृहमन्त्री सामु नै असन्तुष्टी पोखिसकेका छन्। देउवाकै दबाबका कारण भुटानी शरणार्थी प्रकरणमा असन्धानमा खटिएका अधिकृतहरु नै सरुवा भएका छन्। माओवादी निकट स्रोतका अनुसार अनुसन्धान सरुवा कार्य गृहमन्त्रीलाई नै थाहा नदिइ गरिएको थियो। यदि श्रेष्ठ गृहमन्त्री बनिरहेमा नयाँ अनुसन्धान थाल्ने र आफ्ना कार्यकर्ता पक्राउ पर्ने उनको अनुमान छ।
यसैले पनि गृहमन्त्री श्रेष्ठ सबै दलका नेताको आँखी बनिरहेका छन्। यता माओवादी भित्र पनि श्रेष्ठ खास रुचाइएका पात्र होइनन्।विभिन्न काण्डमा माओवादी नेताका नाम जोडिएसँगै ती नेताहरु पनि असन्तुष्ट बन्दै आएका छन्। पछिल्लो समय माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेपछि त माओवादीको एक पक्ष पनि श्रेष्ठसँग असन्तुष्ट छ। पार्टीभित्रै पनि गृहमन्त्रीलाई फिर्ता ल्याउनुपर्ने आवाज उठ्न थालेको छ।
कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि बुधबार भृकुटीमण्डपमा भएको खुकुरी प्रहारको घटनालाई लिएर नेपाली कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाएको छ।
गत बुधबार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएसँगै त सत्तारुढ घटकले झनै आक्रोशित भएका छन्।
एककिसिमले भन्ने हो भने उनीहरुलाई गृहमन्त्री हटाउन यतिबेला ठूलो अवसर बनेको छ। राजधानीमै सत्तारुढको भीआईपी नेतालाई खुकुरी पर्दा सुरक्षा दृष्टिकोण कमजोर भएको बताइरहेका छन्। नेपाली कांग्रेसका भ्रातृ संगठनले त गृहमन्त्रीको राजीनामा मागिसकेका छन्। आज संसद्मा पनि खुकुरी प्रकरणबारे ठूलै चर्चा चल्यो।
नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय र शून्य समयमा कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।





