काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भुईंमान्छेका अधिकार ग्यारेण्टी गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। जनतासँग माओवादी रुपान्तरण अभियानअन्तर्गत काठमाडौंको बौद्धस्थित टुसालमा आयोजित कार्यक्रममा उनले संविधानका प्रावधानहरुको कार्यान्वयन गर्दै जान प्रचण्डको नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
‘राज्यमा पहुँच नभएका नागरिकको पहुँच बढाउने र भुईं मान्छेका अधिकार ग्यारेण्टी गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गरेको छ’ उनले भने,‘स्वास्थ्य र शिक्षा पहुँचमा हुनेले किन्ने भए पनि ती सुविधा उपभोग गर्ने हैसियत नभएकाहरुलाई राज्यले हेर्नुपर्छ।’
पुनले मजदुर, किसान, उत्पीडित, सीमान्तकृत र फरक क्षमता भएकाहरुको अधिकार संविधानमा ग्यारेण्टी गरिएको उनले उल्लेख गरे । ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत मजदुर, किसान, उत्पीडित, सीमान्तकृत र फरक क्षमता भएकाहरुको अधिकार संविधानमा उल्लेख गरेका छौं’,पुनले भने, ‘राज्यको क्षमतामा भएको सीमाका कारण कार्यान्वयनमा कतिपय जटिलता छन्, क्रमशः संविधानका प्रावधानहरुको कार्यान्वयन गर्दै जान हाम्रो अध्यक्ष प्रचण्डको नेतृत्वको सरकार र पार्टी प्रतिबद्ध छ ।’
पुनले नयाँ संविधानपछि अपांगता भएका नागरिकहरुलाई हेर्ने समाजको दृष्टिकोणमा बदलाव आउन थालेको र अपांगतामैत्री संरचना निर्माण तीब्र रुपमा अगाडि बढेको बताए।





