लुटपाटका गिरोह पक्राउ

२०८० भाद्र २४, आईतवार

विराटनगर : मोरङ र सुनसरीका विभिन्न स्थानमा मोटरसाइकल, सिटी रिक्साका यात्रु र पैदलयात्रीलाई लुटपाट गर्ने गिरोहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ । गिरोहलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले अपरेसन सिरा ब्राभो हन्ट यूनिट परिचालन गरेको बताएको छ ।

मोरङको बुढीगंगा-५ कोयलपुरमा पैदल हिँड्दै गरेका स्थानीय तीन जनालाई पेस्तोल, लाठी र रड देखाएर लुटपाट प्रयास गर्ने गिरोहका नाइके रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गिरोहका नाइके बुढीगंगा-४ का रिजवानसहित दुहवी-४ का नसुदिन मियाँ, दुहवी-१ का मोहमद अलिम मुर्तुजा, दुहवी-६ का मोहमद आलम, बुढीगंगा-५ का नजरुल मियाँ र बुढीगंगा-४ का सिजाम आलम छन् ।

रिजवान मियाँ २०६४ देखि २०७९ सम्ममा विभिन्न १० वटा आपराधिक घटनामा संलग्न भएको पुष्टि भएको मोरङ प्रहरीले बताएको छ । उक्त समूहबाट प्रहरीले चिनियाँ पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान, रड, दुई मोटरसाइकल, स्मार्ट फोन ११ थान र नगद एक लाख ७५ हजार २७५ रुपैयाँ बरामद गरेको जनाएको छ । उक्त समूहले मोरङको झोराहाटमा मोटरसाइकलमा सवार तीन जना, मोरङकै वेलुपुरमा सिटी रिक्सा र यात्रु, ग्रामथानको गिदनी पुलमा मोटरसाइकल यात्री, सुनसरीको दुहवी-८ कदमगाछीमा महिलालाई पेस्तोल र रड देखाएर नगद, गहना र मोबाइल लुटेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको ग्रामथान-५ तेतरीयमा मोटरसाइकल चालकलाई, सुनसरीको दुहवीको बुद्धचोक, सुनसरीका गढी र दुहवी इनरुवा खण्डमा, मोरङको वेलबारी-२ थापाचोक, सुनसरीको बर्जुका विभिन्न स्थानमा पेस्तोल र रड देखाएर मोटरसाइकल, सिटी रिक्सा र पैदलयात्रुलाई लुटपाट गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

यस्तै चोरीको कसुरमा भदौ १ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएर फरार रहेका सुनसरी देवानगन्ज-१ का २३ वर्षीय सरोजकुमार मेहतालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेर सुनसरी जिल्ला प्रहरीलाई जिम्मा लगाएको र विराटनगरको सीमावर्ती दक्षिण गेटबाट स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित विहार खगडियाका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार