काठमाडौं : केही दिनअघि नायक अनमोल केसीमाथि ठगी अभियोग लगाएर थुनाएका चलचित्र निर्माता सुदर्शन थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
थापाविरुद्ध आपराधिक विश्वासघात आरोपमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो। चलचित्र ‘प्रसाद २’ को विवादमा सुदर्शनसँगै पक्राउ पुर्जी जारी भएका ओएसआर डिजिटलका मालिक झापाको दमक निवासी ओमप्रकाश अग्रवाल पक्राउ परिसकेका छन्। अग्रवालविरुद्ध ४ दिन म्याद थप भइसकेको छ।
उक्त चलचित्र स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानी पुर्याएको भन्दै उजुरी परेपछि अग्रवाल पक्राउ परेका हुन्। त्यही प्रकरणमा थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी भएका उनीहरु दुवैजनाको खोजी भइरहेको छ।
तीनैजनाविरुद्ध प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले जाहेरी दिएका थिए। अनौठो के छ भने यसअघि सुदर्शन थापाले जाहेरी दिँदा अनमोल केसी तीन दिनसम्म थुनिएका थिए। अब उनै थापाविरुद्ध पनि ठगी आरोपमा उजुरी परेको हो। प्रसाद-२ का निर्माता बस्नेतले आफ्नो अनुमति नै नलिई अग्रवाल, थापा र श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरेर आफूलाई एक करोड ५० लाख रुपैयाँ हानी गरेको जनाएका छन्।
तीनैजनाविरुद्ध ठगी अपराधिक विश्वासघात तथा अपराधिक लाभअन्तर्गत कारवाही मागसहित जिल्ला सरकारी वकिलमार्फत महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो।





