हेटौँडा : कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा गत वर्षको तुलनामा यो वर्ष कम पानी सङ्कलन भएको छ ।
नेपालबाट वर्षाको मौसम बाहिरिएको र पानी पर्ने क्रम घट्दा जलाशयमा गत वर्षभन्दा कम पानी सङ्कलन भएको पाइएको हो । गत वर्षको तुलनामा यो वर्ष जलाशयमा यही अवधिमा पानीको सतह घटेको हो । नेपालको जलाशययुक्त यस आयोजनालाई जलविद्युत्को महत्त्वपूर्ण ब्याकअपका रूपमा समेत मानिन्छ ।
सोमबार दिउँसोसम्मको जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ मिटर पुगेको छ । एक वर्षअघि असोज २२ गते दिउँसो आयोजनाको जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२३.१४ मिटर मापन गरिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । गत वर्ष असोज ३१ गते जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२८.८४ मिटर मापन गरिएको थियो ।
जलाशयमा जलाशय रहेको इन्द्रसरोवर गाउँपालिकासँगै थाहा नगरपालिका क्षेत्रमा रहेका खोलाहरूबाट आउने पानी सङ्कलन हुँदै आएको छ । त्यस क्षेत्रमा विगतका वर्षको अनुपातमा कम वर्षा भएका कारण पनि आयोजनाको जलाशयमा पानी सङ्कलन कम भएको हो ।
कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले गत वर्षको तुलनामा यो वर्ष आयोजनाको जलाशय क्षेत्रमा कम पानी परेका कारण पानी सङ्कलनको दरसमेत कम भएको जानकारी दिए ।
उनले जलाशयको पानी प्रयोग गरी वर्षाको समयमा विद्युत् उत्पादन भएकाले पानी कम सङ्कलन भएको बताए । “नेपाल विद्युत् प्राधिकरणले अहिले भारतमा विद्युत् बिक्री गरिरहेको छ, त्यसमा कुलेखानीका तीन वटै आयोजनाबाट उत्पादित विद्युत्समेत पर्छ,” उनले भने, “महँगो मूल्य पाउँदा विद्युत् बिक्री गर्ने भएकाले कुलेखानी आयोजना सञ्चालन हुँदा जलाशयको पानी खपत हुन्छ ।”
उनका अनुसार पछिल्ला दुई दिन आयोजनाबाट कम परिणाममा विद्युत् उत्पादन भएको छ । पछिल्लो दुई दिन ३० देखि ४० मेगा-आवर विद्युत् उत्पादन भएको छ ।
उहाँले विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्नसमेत जलाशयको पानी उपयोग गरी कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने गरिएको बताए ।
आकासे पानीको भर
गत वर्ष मङ्सिर १ गते भरिएको कुलेखानी आयोजनाको जलाशय यो वर्ष भरिन आकाशको पानीमा नै भर पर्नुपर्ने भएको छ । जलाशय क्षेत्रमा सामान्य वर्षा अहिले पनि भइरहेको छ तर जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बहिर्गमन हुने क्रम सुरु भएको जनाएकाले अब जलाशय क्षेत्रमा वर्षाको सम्भावनासमेत कम हुँदै गएको अवस्थामा जलाशय भरिने सम्भावना न्यून देखिएको छ ।
जलाशयको सतह समुद्री सतहबाट एक हजार ५३० मिटर पुग्दा जलाशय भरिन्छ । गत वर्ष कात्तिकको मध्यमा पुग्दा जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२८.८४ मिटर पुगेको थियो ।
जलाशयको पानीको सतह बढेर जलाशय भरिएर निस्कने पानी कुलेखानी खोला हुँदै बागमती नदीमा मिसिने गरेको छ । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।
कुलेखानी प्रथममा विद्युत् उत्पादन भएपछि निस्किएको पानीले दोस्रो र दोस्रोमा विद्युत् उत्पादन गरी निस्किएको पानीसहित स्थानीय खोलाको पानी प्रयोग गरी भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएको छ ।





