सन्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने स्याङ्तान पक्राउ

२०८० आश्विन २४, बुधबार

हेटौंडा : उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट गरेको आरोप लागेका सुवास स्याङ्तान पक्राउ परेका छन्।

भदौ २७ गते हेटौँडा उपमहानगरपालिका-१ स्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट भएको थियो। उक्त घटनामा स्याङ्तान संलग्न रहेको आरोप लागेको छ। उनलाई हेटौँडा बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। पक्राउ परेका स्याङ्तानमाथि थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट म्याद लिइएको छ।

कुटपिटमा संलग्न व्यक्तिमाथि पक्राउ गरी कारबाही अघि बढाउनुको सट्टा मेलमिलाप गर्नका लागि दबाब दिइएको चिकित्सकहरूले गुनासो गरेका थिए। उनीहरूले नेपाल चिकत्सक संघमा पनि त्यस्तै गुनासो गरेका थिए। यसपछि संघको अगुवाईमा देशभरका चिकित्सक आन्दोलित बने। पछि सरकारले कुटपिटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनेलगायतका ६ बुँदे सहमति असोज १३ गते गरेको थियो। यसपछि कार्यस्थलमा सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ।

जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिबीच भएको सहमतिसँगै स्वास्थ्यकर्मीहरु आन्दोलन स्थगित गर्न राजी भएका थिए। सोही सहमतिअनुसार कारबाहीका लागि स्याङतानलाई पक्राउ गरिएको हो। सहमतिमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारवाही चलाउने सहमति भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार