मोरङ : मोरङको विराटनगरमा गएराति २० वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। असोज २८ गते राति विराटनगर महानगरपालिका ३ मा पार्किङ गरेर राखेको ट्रकको आडमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ पर्ने तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक भएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
१६ वर्षीय किशोर अर्को ट्रकमा काम गर्ने सहचालक भएका प्रहरीले जनाएको छ उनीहरुले गएराति विराटनगर महानगरपालिका–३ मा ती युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए।
बलात्कारको क्रममा पीडित युवती चिच्याएपछि उनीहरु भागेका थिए। स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरेको हो। अदालतबाट म्याद थप गरेर आरोपीहरुमाथि थप अनुसन्धान गरिने प्रहरीले नजाएको छ।





