काठमाडौं : घरेलु मैदानमा जारी यूएई सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले कुशल मल्लको उत्कृष्ट ब्याटिङमा हङकङ सामु २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले ९२ रनको सर्वाधिक रन जोडे। ४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का हाने।
दीपेन्द्रसिंह ऐरीले ५२ रन थपे। आशिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए। ओपनर कुशल भुर्तेल २ रनमा एलबीडब्ल्यू धरापमा परे। सोमपाल कामीले ८ रन थपे। कप्तान रोहित पौडेल ११ रन बनाउँदा बोल्ड आउट भए। हङकङका लागि हारोन हर्सद र मोहम्मदले समान २/२ विकेट लिए। हङकङले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
जारी टी–२० सिरिजमा नेपालले दुई खेल जितेको छ। नेपालले गत बिहीबार हङकङलाई ६ विकेट र गत बुधबार यूएईलाई ७ विकेटले हराएको हो। भोलि आइतबार हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदै छ भने पर्सि सोमबार नेपाल र यूएई तथा बुधबार हङकङ र यूएई भिड्दै छन्। अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबीच शुक्रबार फाइनल खेल हुनेछ।





