हुम्ला : हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँमा टिमुर फलेको छ । तीन वर्ष अगाडि बझाङ जिल्लाबाट ल्याएर लगाएको टिमुरको बोट लटरम्मै फलेको हो ।
चङ्खेली गाउँपालिका –२ को दार्मा गाउँका मनप्रसाद जैसीले दुई वर्ष अगाडि लगाएको टिमुरको बोटमा यसवर्ष राम्रो फलेको बताए । उनले उक्त बोट परीक्षणका लागि लगाएको बताउदै पहिलो वर्षमै राम्रो फलेको कारण टिमुर खेतीको सम्भावना राम्रो देखिएको बताए ।
भान्सामा दैनिक रुपमा मसलाको रुपमा आवश्यक पर्ने टिमुर यसअघि मुगु, बाजुरा र बझाङ जिल्लाबाट खरिद गरेर ल्याई काम चल्दैआएकोमा अब भने जिल्लामै उत्पादन गर्न सकिने सम्भावन बढेको छ । त्यसैगरी गाउँका अर्का एक जनाले पनि लगाएको टिमुरको बोटले फल दिन थालेको हो ।सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले मध्यपहाडी क्षेत्रको दुई हजार मिटर उचाइ क्षेत्रमा टिमुर खेती गर्न सकिने भए पनि हुम्लाको दुई हजार तीनसय मिटर उचाइमा टिमुर फलाउन सफल भएको बताए ।
उनले यति उचाइमा टिमुर फल्नु पर्ने मुख्य कारण मौसममा आएको परिबर्तनको कारण तापक्रम बृद्धि हुँदा तिमुर फल्न सम्भव भएको बताए । हिमालमा पनि टिमुर फल्न थालेपछि उहाँले अब ब्यावसायिक टिमुर खेती गरेर जिल्लालाई आत्मनिर्भर बनाउनेगरी लाग्नु आबश्यक रहेको बताए ।





