तिहारमा चिनीको अभाव नहुने

२०८० कार्तिक १६, बिहीबार

काठमाडौँ : नजिकिँदै गरेको नेपालीहरूको महान चाड तिहारमा चिनी अभाव नहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशकलगायतसँग छलफलपछि उद्योगहरूबाट बजारमा चिनी आउने जानकारी गराएको छ।

प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्यि अनुसन्धान विभागका महानिर्देशकहरुसँग अवैध ढंगल भित्रिएको तथा उद्योगहरुले बजारमा नपठाएको चिनी अनुगमन गर्ने विषयमा छलफल गरेका थिए।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए। बैठकमा हाल अवैध ढंगले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा चिनी पठाइने गरेको सूचनाका आधारमा आवश्यक कारबाही गर्ने विषयमा छलफल भएको थियो। यसका साथै नेपाली चिनी उद्योगहरुले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी आपूर्ति गर्नुको साटो कतिपय ठूला उद्योगलाई चिनी आपूर्ति गर्न गोदाममा चिनी राखेकोले उक्त चिनी बजारमा ल्याउने विषयमा समेत छलफल भएको बताइएको छ।

वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको सत्तरी प्रतिशत चिनी बिभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, विस्कुटलगायतका उद्योगहरुमा आपूर्ति हुने गर्दछ। आजको बैठकपछि नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनि उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरुसँग छलफल गरिनेछ। हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने कुरा सुनिश्चित गरिएको छ। नेपाल साल्ट ट्रेडिंगले भोली नै उक्त चिनी खरीद गरी खुद्रा उपभोक्तामार्फत बजारमा ल्याउनेछ। साल्ट ट्रेडिंगसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात रहेको छ।

चिनी उद्योगहरुको स्टक रेकर्डका आधारमा आम उपभोक्ताको मागलाई पूर्ति गर्न बजारमा चिनी पठाउन समन्वय गरिने र अनुगमनलाई समेत तीब्र पारिने भएको बताइएको छ। हाल कतिपय पसलहरुले एक सय साठी रुपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकोले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ।

यसका साथै भोलीदेखि नै अवैध ढंगल भित्रिएको या गोदाममा थन्किएको चिनीको व्यापक अनुगमन गर्ने समेत निर्णय भएको छ। नेपाल प्रहरीले अवैध ढंगले चिनी लुकाएको सूचना भएमा प्रदान गर्न अपील गरेको छ। यसअघि दशैं अगाडि सिर्जना भएको अभाव पूर्ति गर्न समेत सरकारले पहल गर्दै ५ हजार मेट्रिक टन भन्दा बढी चिनी बजारमा ल्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार