काठमाडौं : सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ ।
हिजो सोमबार विहान ८ वजे नेपालगञ्जका लागि उड्न लागेको थियोे।जहाज मर्मतका लागि प्राविधिकको टोली हुम्ला पुगेको छ । जहाजको २ वटै इन्जिनको ब्याट्री डाउन छ । जहाज मर्मतका लागि समिट एयरको जहाजबाट ईन्जिनियर देवेन्द्र पुनको नेतृत्वमा ३ जना प्राविधिक टोली सिमकोट पुगेको हो ।
हिजो सोमबार उनीहरुले इन्जिनमा भएको तार सर्टको मर्मत गरेका थिए । उक्त मर्मत गरेपछि नेपालगञ्ज जाने यात्रुलाई जहाजमा बोलाइएको थियो।तर जहाजको इन्जिन नै चलेन । इन्जिन नचलेपछि जाँच गर्दा ब्याट्री डाउन भएको प्राविधिकले बताएको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलिराज हमालले बताए ।
सोमबार बिहान ८बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ । नेपालगन्जबाट प्राविधिकबाट टोली आएर मर्मतपछि पनि उडान नहुने भएपछि गन्तव्यमा जान नपाएका यात्रुहरु समस्यमा परेका छन् ।





