पक्की पुल टुलुटुलु हेर्दै पैसा तिरेर कच्ची पुलबाट यात्रा

२०८० कार्तिक ३०, बिहीबार

दमक : झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनि बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।

बाँसको भाटाको पुलबाट खोला तर्दा पनि पैदल एक जनाको १०, साइकलमा ३० रुपियाँ र मोटरसाइकलमा ३० रुपियाँ तिर्नुपर्छ । सिटी तथा टेम्पोहरुले २ सय रुपियाँसम्म तिर्न बाध्य बनेको बताइएको छ । बाँसको पुल तर्नका लागि २ लाखमा गाउँपालिकाले नै ठेक्का लगाएको पाइएको छ । दैनिक ५ सय जनाभन्दा बढीको ओहोरदोहोर हुनेगरेको स्थानीयहरु बताउँछन् ।

तत्कालीन अवस्थामा मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुलको ठेक्का लगाएको थियो । सो समयमा कालिका–ओसिए जेभीले निर्माण ठेक्का पाएको थियो । १० करोड ३२ लाख ९१ हजारमा ठेक्का लिएर निर्माणको काम सुरु गरेको थियो । धेरै दबाब दिएपछि पुल बने पनि सञ्चालनमा आउने अवस्था नबनेपछि धेरै समस्या बेहोर्नुपरेको झापा उद्योग वाणिज्य सङ्घ गौरीगन्जका अध्यक्ष गैदार महतोले बताए।

पुल छोटो भयो तर खोला फराकिलो बन्यो, उनले भने। चारसय मिटर लम्बाइको खोलामा दुई सय पाँच मिटरको पुल बनेको छ । खोलाको बीचमा पुल देख्दा नयाँ आउनेहरु त छक्क पर्थे, उनले भने । डिजाइन हुँदा ठिकै थियो होला, पछि खोलाले धार परिवर्तन गर्दा खोला बढ्यो तर पुल बनाउने बिषयमा चासो नहुँदा यो अवस्था आएको हुनसक्ने उनले बताए ।

हुलाकी राजमार्ग हुँदै गौरीगञ्ज गाउँपालिका ६ चिल्लारा र मोरङको दक्षिणपूर्वी रतुवामाई नगरपालिका ३ आमबारीलाई यसले जोड्छ । गौरीगन्ज गाउँपालिकाका कार्यपालिका सदस्य एवं वडा २ का वडाध्यक्ष श्रवण गिरीका अनुसार अहिले आफुहरुको ठूलो सपना र प्रतीक्षाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माण भए पनि पुल नबन्दा सास्ती छ । अहिले पुरानो पुलको दायाँबायाँ पुल लम्ब्याउने काम भइरहेकाले अब केही समयमा पुल सुचारु हुनेमा आशावादी रहे पनि भर पर्ने अवस्था नरहेको गिरीले बताउनुभयो । बजेट अभाव हुने, निर्माण ब्यवसायीले समयमा काम नसक्ने र यसमा राज्यको चासो नजाने हो कि भन्ने चिन्ता सधैं रहिरहेको छ, उनले भने।

हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाका अनुुुसार पुरानो डिजाइन अनुसार पुल निर्माण सम्पन्न भएको छ । २ सय ५ मिटर लम्बाइको पुल २०७५ सालमा नै पूरा भएर आफूहरु मातहत आएको उहाँले बताए । २ सय ७५ मिटर पुल आवश्यक देखिएको र २ सय ५ मिटरमात्र बनेकाले यसलाई सञ्चालन हुने अवस्था बनाउनेगरी थप २२ करोडमा पुल निर्माणको ठेक्का लागेको छ ।

२०८२ साल असार १७ गतेसम्ममा सम्पन्न गर्नुपर्ने निर्माण ब्यवसायीसँगको सम्झौतामा उल्लेख छ । इन्जिनियर खतिवडाका अनुसार नयाँ कामको तीब्र रुपमा प्रगति भइरहेको छ र सम्झौताको ५ महिनामा ३० प्रतिशत काम पूरा भएको छ । अर्को दसैंमा सम्भवतः पुल पूर्णरुपमा सञ्चालनमा आउने अपेक्षा छ, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार