नेपालगन्ज : आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वलाई विशेष रुपमा सम्पन्न गर्न नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको ठुलो तलाउलाई झिलिमिली पारेर सिँगारिएको छ । बागेश्वरी मन्दिरको तलाउ यहाँको मुख्य छठ पूजास्थल हो ।
यहाँ छठ समापन नभएसम्म विशेष रौनक हुन्छ । सोही कारणले शनिबार साँझदेखि नै यो तलाउसहित मन्दिरलाई पनि झिलिमिलि पारेर सिँगारिएको नेपालगन्जका वरिष्ठ व्यवसायी नन्दलाल वैश्यले बताए । उनले नेपालगन्जमा पनि विशेष उत्साहका साथ छठपर्व मनाइँदै आएकोले त्यसका लागि दुई दिन अघिदेखि नै तयारी सुरु गरिएको बताए । छठको मुख्य दिनमा बागेश्वरी तलाउमा ठूलो सङ्ख्यामा भक्तजन उपस्थित भएर सूर्यको उपासना गर्दछन् । सूर्य उपासनाको पर्व छठ सुरु भएसँगै बागेश्वरी मन्दिरको तलाउको सफाइ गरेर त्यसलाई सिँगारिएको हो ।
छठका लागि जलाशय तथा तलाउ किनारमा विशेष सरसफाई तथा सजावटको काम गरिएको बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथले बताए । उनका अनुसार सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुने भनिए पनि एक दिन पूर्व नै उसिनेकाे धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर ब्रतालुले छठको तयारी गरेका थिए ।
महन्त चन्द्रनाथले यस वर्ष आइतवार षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ दिने भएपनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु भइसकेको बताए । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रबार व्रतालुले नुहाएर चोखो भई व्रत बस्ने सङ्कल्प गरेका थिए । दोस्रो दिन शनिबार उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यदेवलाई आह्वान गरिएको थियो । त्यसलाई खरनाका रुपमा मनाउने गरिन्छ ।
तेस्रो दिन आइतबार विभिन्न किसिमका परिकार घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अर्घ दिइनेछ । अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन हुने नेपालगन्जका अगुवा विश्वजित तिवारीले बताए । उनका अनुसार पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठमा सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवम् चर्मरोग निको हुने जनविश्वास छ ।





