चामलसँग साटेर पानी पिउदै सिङ्गो गाउँ

२०८० मंसिर ७, बिहीबार

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित सिङ्गो गाउँले चामलसँग साटेर पानी उपभोग गरिरहेको छ। पानीको चरम समस्या भएपछि उक्त गाउँका मानिस चामलसँग पानी साट्न बाध्य भएका हुन्।

मंगलटारको दमाई गाउँ, बरबोट (मगर गाउँ), कार्की गाउँ र राउत गाउँका चार टोलमा ५० घरधुरी छन्। उनीहरूले २०७४ सालदेखि चामलसँग पानी साटेर प्रयोग गर्दै आएका छन्। सबै घरधुरीले मिलेर पानी उपभोग गरे बापत वर्षको ३० बोरा चामल पानीको मुहान धनीलाई तिर्दै आएको स्थानीय तीर्थबहादुर कार्कीले बताए।

वर्षको ३० बोरा चामल दिने गरी ल्याइएको पानी तीन वटा धारामा झर्छ। दमाई डाँडा, बरबोट र कार्की गाउँमा मुख्य धारा छन्। त्यसबाट कसैले पाइपमार्फत घरसम्मै लगेका छन् भने कतिपय धारामै आएर पानी झार्छन्। मुख्य तीन वटा धाराको पानी उपभोग गर्ने घरधुरीले १०/१० बोरा चामल खरिद गरेर जम्मा ३० बोरा हरेक वर्ष पानी मुहान धनीलाई दिँदै आएको स्थानीय बत्ताउँछन्।

सोही नगरपालिकाको वडा नम्बर ५ दुर्छिममा उक्त पानीको मुहान छ। जसबहादुर राईको जग्गामा रहेको पानीको मुहानबाट करिब पाँच किलोमिटर पाइप बिच्छ्याएर मंगलटारसम्म पानी पुर्‍याइएको छ। पानीको मुहान वरिपरि राईले धान रोप्दै आए थिए। गाउँमा पानीको चरम समस्या भएपछि त्यहाँ फल्ने भन्दा धेरै चामल दिने सहमतिमा मंगलटार पानी लगिएको गाउँलेको भनाइ छ। पानी मंगलटार लगेपछि अहिले राईको करिब पाँच रोपनी जग्गा जङ्गलमा परिणत भएको छ।

राईको सिमसारे खेतको दुई मुहानबाट जम्मा गरेर ल्याइएको पानी मंगलटारमा निर्माण भएको बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको ट्याङ्कीमा जम्मा हुन्छ। छुट्टै ट्याङ्की नभएपछि उनीहरूले अधुरै रहेको उक्त आयोजनाको ट्याङ्की प्रयोग गर्दै आएका छन्। बिहान ६ देखि दिउँसो १ बजेसम्म ट्याङ्कीबाट धारामा पानी खुल्छ। सोही समयमा सबैले हिलटेक, ड्रम, गाग्री लगायतका भाडामा पानी जम्मा गर्छन्।

त्यस अगाडि करिब १ देखि २ घण्टा पैदल हिँडेर फडिन कुवाबाट पानी ल्याएर जीविकोपार्जन गर्दै आएको स्थानीय लालकुमार दर्जी बताउछन्।  सुरुमा ६ महिना पानी दिने ६ महिना उक्त ठाउँमा धान रोप्ने मुहान धनी राईको सर्त थियो। तर गाउँलेले पानी सबै महिना लाने भनेपछि खेत बाँझो रहने भएकाले राईले शुल्क लिएर मात्र दिने अडान लिए। त्यसपछि चार टोलका मानिस मिलेर वर्षको ३० बोरा चामल दिने गरी मुहान धनी राईसँग पानी लाने सम्झौता गरेको गाउँले बत्ताउँछन्। पानीको चरम समस्या भएपछि चामलसँग पानी साट्न बाध्य भएको पानी उपभोक्ता मेखबहादुर थापा मगर बताउनुहुन्छ। ‘‘बरु चामल किन्न पाइयो तर पानी पाइएन, त्यसैले हामीले चामलसँग पानी साटेका हौँ’’, उनले भने।

२०७४ साल पुस महिनामा पाँच वर्षका लागि पानीको लिखित सम्झौता भयो। हरेक वर्षको चैत महिना भित्रमा चामल दिइसक्नु पर्ने सम्झौतामा उल्लेख थियो। जस अनुसार सुरुको वर्ष पानी नल्याई चामल तिर्न बाध्य भएको उपभोक्ता तीर्थबहादुर कार्की बताउछन्। राबु खोला बरबोट खानेपानी योजना नाम राखिएको उक्त योजनाको लागि वडा कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा डेढ लाख बजेट विनियोजन गरिदियो। उक्त बजेटमार्फत खरिद गरिएको पाइप, नगरपालिकाले दिएको पाइपसमेत गरेर नपुगेपछि अन्य योजनाको सापट ल्याएर ०७५ वैशाख अन्तिममा गाउँमा पानी ल्याउन सफल भएको कार्कीको भनाइ छ। पुनः अर्को आर्थिक वर्ष ०७५/७६ मा वडाले विनियोजन गरेको डेढ लाखबाट योजना सम्पन्न गरेर पानी हालसम्म उपभोग भइरहेको उनले बताए।

सुरुमा गरिएको पाँच वर्षको सम्झौता ०७९ मा सकिएको छ। हाल पुनः १० वर्षको लागि सम्झौता गरिएको छ। पहिलेको सम्झौतामा केही सस्तो चामल उल्लेख गरिएको हुँदा करिब वर्षको सबैले ५० हजार रकम जम्मा गर्दा पुग्दै आएको उपभोक्ता तुलसी भुजेलको भनाइ छ। अहिलेको सम्झौतामा पानीको मुहान धनीले नमानेपछि अलिक महँगो चामल उल्लेख गरिएको छ। जसकारण करिब ८० हजार रकम गाउँलेबाट हरेक वर्ष जम्मा गर्नु पर्ने देखिएको उनी बताउछन्। ट्याङ्कीबाट पानी खोल्ने बन्द गर्ने, मुहानमा बिग्रेको बेला बनाउने एक जनालाई वार्षिक १२ हजार दिएर राखिएको छ।

०६६ सालसम्म अन्तर्राष्ट्रिय एक संस्थाले निर्माण गरेको टिमुरबोटे मुहानको पानीको एक धारो उक्त गाउँमा आउने गरेको थियो। तर पछि मुहान नजिक रोड निर्माण हुँदा र भूकम्पका कारण पानीको मुहान घट्दै गएपछि मंगलटारका उक्त गाउँमा पानीको चरम समस्या भएको हो। त्यसपछि उनीहरूले अर्को मुहान खोजेर चामलसँग पानी साटेर ल्याउन बाध्य भएको बत्ताउँछन्।

नेपाल सरकारले सुख्खा क्षेत्र घोषणा गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्राय सबै वडामा पानीको चरम समस्या छ। उक्त समस्याको समाधानका लागि करिब एक वर्षको लागतमा दुधकोशीबाट बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन भइरहेको छ। तर पटक पटक म्याद थपिँदा पनि काम सम्पन्न भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार