रुपन्देही डगोहरा विश्वकर्मा मन्दिर

२०८० मंसिर ९, शनिबार

रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ डगोहरामा अवस्थित विश्वकर्मा मन्दिर । यस मन्दिरको गर्भ गृहको मध्य भागमा विश्वकर्मा भगवान्को मूर्ति र दाँया र बाँया शिव, पार्वती एवं ब्रह्मा भगवानको मूर्ति रहेको छ।

यो मन्दिर सिद्धार्थनगरको बुद्ध चौकबाट लुम्बिनी जाँदा करिब दुई किलोमिटरको दुरीमा दाहिनेतर्फ रहेको छ । यस मन्दिरको सन्दर्भमा श्री विश्वकर्मा मन्दिर सञ्चालक समितिका अध्यक्ष रामकिशन विश्वकर्माका अनुसार पहिला यस स्थलमा विश्वकर्मा बाबा कुटी र पोखरी थियो । पछि मात्र यस मन्दिरको निर्माण भएको बताए ।

तर, विश्वकर्मा मन्दिरको प्रमुख गेटको दाहिनेतर्फ पुरातत्त्व विभागको निलो साइनबोर्डमा प्रस्ट रूपमा लेखिएको छ, यो स्थल प्राचीन भनेर । यस सन्दर्भमा समितिका अध्यक्ष बिकका अनुसार यस प्राचीन स्थलको बारेमा आफूलाई केही थाहा नभएको बताए। साथै मन्दिरका पुजारी जयराम भण्डारीले पनि यस बारेमा आफूलाई केही थाहा नभएको बताए। जब कि, पुरातत्त्व विभागले प्राचीन स्थलमा मात्र यस्ता निला साइन बोर्ड राख्दै आएको छ जुन प्रस्ट रूपमा लुम्बिनी, रामग्राम, कपिलवस्तु लगायतका स्थलमा विभिन्न ठाउँमा देख्न सकिन्छ ।

चारैतर्फ पर्खाल लगाएको करिब नौ कठठा क्षेत्रफलमा यो मन्दिर रहेको छ। मन्दिरका पुजारी भण्डारीका अनुसार पौराणिक कालमा भगवान् विश्वकर्माले देवहरूको भव्य महलदेखि हात हतियार लगायत सिंहासन इत्यादि बनाएको मान्यता रहेको छ। यिनले भने भगवान् शिवको लागि त्रिशूल र भगवान् विष्णु भगवान्को लागि सुदर्शन चक्र तथा स्वर्गराज इन्द्रका लागि बज्र अनि यमराजका लागि काल दण्ड समेत बनाएको किम्बदन्ती रहेको छ।

यी सबै बस्तुहरू उनले सूर्यको धुलो प्रयोग गरी बनाइएको पनि भन्ने गरिन्छ। त्यसै गरी रावणको श्रीलङ्का, श्रीकृष्णको लागि द्वारिका नगरीको साथै पाँच पाण्डवका लागि इन्द्र प्रस्थ नगरी बनाएको समेत हिन्दुधर्म ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । सोही कारणले विश्वकर्मा भगवान् जन्मेको दिन अर्थात् विश्वकर्मा पूजा वा दिवसका दिन आफूले प्रयोग गरेको वाहनहरू, कलकारखाना आदीहरूमा विश्वकर्माको पूजा गर्ने परम्परा रहिआएको छ।

उक्त दिन यस मन्दिरमा विशेष पूजा अर्चना हुनुको साथै भक्तजनहरूको भिड लाग्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार